२५ फागुन काठमाडौँ । राष्ट्रपति निर्वाचनको मतगणना बिहीबार अपराह्न ४ बजेदेखि सुरु गर्ने राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको छ । मतगणनाको तयारीका लागि कार्यालयले राष्ट्रपतिका उम्मेदवारद्वय रामचन्द्र पौडेल र सुवास नेम्वाङका प्रतिनिधिसँग छलफल गर्ने भएको छ ।
बिहान १० बजे सुरु भएको मतदान अपराह्न ३ बजेसम्म हुनेछ । दिउँसो १ बजेसम्मको तथ्यांकअनुसार प्रदेशतर्फ ४४० मत खसेको छ भने संघीय संसद्तर्फ २९५ मत खसेको छ । निर्वाचन अधिकृत महेश शर्मा पौडेलले बेलुका ७ बजेसम्म निर्वाचनको नतिजा आइसक्ने जानकारी दिएका छन् ।
निर्वाचनमा प्रतिनिधिसभाका २ सय ७२ (फरार १ सहित), राष्ट्रिय सभाका ५९ र सातै प्रदेशसभाका ५ सय ५० गरी ८ सय ८१ मतदाताले भाग लिनेछन् ।
संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यको मतभार फरक छ । संघीय संसद् सदस्यको मतभार ७९ छ भने प्रदेशसभा सदस्यको ४८ छ । दुवै सभाको तत्काल कायम रहेका मतदाताको कुल मतभार भने ५२ हजार ६ सय २८ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्