Ad imageAd image

चितवनमा अपरेशन गरेर जन्मियो हात्तीको छावा

खबर खुराक
खबर खुराक २५ फाल्गुन २०७९, बिहीबार
4 Min Read
Aa

२५ फागुन चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् केन्द्र खोरसोरमा रहेकी २५ वर्षे गण्डकीकलीलाई मंगलबार विहानैबाटै व्यथा लाग्न थालेको थियो। गर्भवती ढोई(पोथी हात्ती)ले व्यथा लागेको लामो समयसम्म पनि बच्चा जन्माउन नसकेपछि उसको जाँच गराउन पशु चिकित्सक तथा प्राविधिकहरू खोरसोर पुगे।

निकुञ्जका वरिष्ठ वन्यजन्तु चिकित्सक डाक्टर विजयकुमार श्रेष्ठका अनुसार गण्डकीकलीको पेटमा रहेको बच्चा योनीतिर निस्कनुपर्नेमा तल्लो भागतिर पोको परेर बसेको थियो। उनीहरूले हात्तीलाई सुत्केरी गराउन केही प्रयासहरू गरे। तर सामान्य रूपमा सुत्केरी गराउन सकिने अवस्था देखिएन। बरू माउ र बच्चाकै ज्यान जानसक्ने खतरा देखियो।

‘हामीलाई बच्चाको भन्दा माउको बढी माया थियो। शल्यक्रिया गरेर गण्डकीकलीको पेटमा रहेको बच्चा झिक्न सके उसलाई बचाउन सकिन्छ कि भन्ने सल्लाह गर्‍यौं,’ डाक्टर श्रेष्ठले भने, ‘हामीसँग विदेशी डाक्टर निक मास्टर पनि हुनुहुन्थ्यो। निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषका डाक्टर र प्राविधिक पनि भएकाले शल्यक्रिया गर्न सकिने निष्कर्षमा पुग्यौं।’

डाक्टर श्रेष्ठ नेतृत्वको टोलीले बुधबार गण्डकीकलीको पछाडिको भाग करिब एक फिट चिरेर पेटभित्रको बच्चा निकालेको थियो। उनकाअनुसार नेपालमा यसरी शल्यक्रिया गरेर वन्यजन्तुलाई सुत्केरी गराइएको सम्भवत: यो पहिलो पटक हो।

- Advertisement -
Ad image

गण्डकीकली हाल निकुञ्जमै रहेकी ५० वर्षीया प्रेरणाकलीकी छोरी हो। उसको यो दोस्रो बेतको बच्चा हो। यो चितवन निकुञ्जमा रहेको जंगली हात्ती ध्रुवेसँगको संसर्गबाट जन्मिएको हो। गण्डकीकलीको तीन वर्षअघि पहिलो पटक जन्मिएको बच्चा मरेको थियो।

डाक्टर श्रेष्ठका अनुसार त्यतिखेर गण्डकीकलीको बच्चाका पछाडिका दुईवटा खुट्टा योनीबाट निस्किएका थिए। तर पुरै बच्चा निस्कन सकेन।

‘हामीले ३० जनाजति मान्छे लगाएर बच्चा तानेका थियौं तर बच्चालाई बचाउन सकिएन,’ उनले भने, ‘तर यसपालि त खुट्टा पनि बाहिर निस्किएन। पेटभित्र उल्टो अवस्थामा बसेको रहेछ।’

चिकित्सकहरूले करिब दुई घन्टा लगाएर गण्डकीकलीको पेटमा रहेको भाले छावा निकालेका थिए। सुरूमा छावाले कुनै हलचल गरेन। उसको मुटुको धड्कन शून्य थियो।

‘हामीले उसलाई कृतिम श्वास दियौं। फोक्सोमा दबाब पुर्‍यायौं। करिब ३ मिनेटमा छावा निद्राबाट ब्युँझिएझैं भयो। उसको नाकबाट श्वास आयो, एउटा आवाज निकाल्यो,’ उनले भने, ‘हाम्रो खुसीको सीमाना रहेन। हामी अब माउ बच्चा दुबैलाई बचाउन सक्ने भयौं। ओहो, यो त ठूलो अचम्म भयो भन्ने लाग्यो।’

डाक्टर श्रेष्ठले गण्डकीकलीको गर्भवती अवस्था, शल्यक्रिया, पेटबाट निकालिएको बच्चाको अवस्था, उसमा आएको चामत्कारिक सुधार देख्दा कुनै फिल्म हेरेको जस्तो लागिरहेको बताए।

श्वास फेर्न थाले पनि उठ्न नसकेको छावा बिहीबार बिहान आफैं उठेर हिँडडुल गर्न थालेको छ। ‘उठ्न नसकेपछि बुधबार राति ९ बजेतिर स्लाइन चढाएका थियौं। बिहान १ बजेतिर आफैं उठेछ,’ श्रेष्ठले भने, ‘हामी अहिले पनि खोरसोरमै छौं। बच्चा खेलिरहेको छ, हामी उसलाई हेरेर दंग परिरहेका छौं।’

छावालाई अहिले पाउडर दूध खुवाइएको छ। आफ्नो शरीर काटेर निकालिएको बच्चासँग माउ डराइरहेको उनले बताए।

डाक्टर श्रेष्ठले बिहीबार गण्डकीकलीको घाउ सिलाउने बताए। यसलाई सञ्चो हुन केही महिना लाग्नसक्ने उनले बताए।

‘हात्तीसारमा खुल्ला ठाउँमा शल्यक्रिया गरेको र अब पनि ऊ त्यहीँ बस्ने भएकाले धुलो, मैलो, फोहोरको इन्फेक्सन हुन सक्छ। मान्छेको जस्तो अप्रेसन थिएटर हुँदैन, फोहोरका कारण इन्फेक्सन हुनसक्ने भएकाले यसबाट बचाउन सक्नुपर्छ,’ उनले भने।

सामान्यत: पोथी हात्तीहरू बच्चा पाउन १४-१५ वर्षमा तयार हुन्छन्। गण्डकीकली गर्भवती नै ढिलो भएकी थिई।

‘पहिलोपटक नै उसलाई गाह्रो भयो। यो पटक पनि त्यस्तै अवस्था आयो,’ चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर हेर्ने सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले भने, ‘जोखिम नउठाई नहुने अवस्था देखेर चिकित्सकहरूको टिमले पहिलोपटक शल्यक्रिया गरेर छावा जन्मायो। सफल पनि भयो।’

शल्यक्रियामा डाक्टर श्रेष्ठ, हात्ती प्रजनन् केन्द्र खोरसोरका नासु मनिपुरन चौधरी, राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका वन्यजन्तु चिकित्सक डाक्टर अमिर षडौला, डाक्टर विकल्प कार्की, वन्यजन्तु प्राविधिक किरण रिजाल, क्यानडाका पशु चिकित्सक डाक्टर निक मास्टरलगायत सहभागी थिए।

ढोईले गर्भवती भएको २२ देखि २४ महिनामा बच्चा जन्माउँछ। २०५८ सालमा बच्चा जन्माउन नसकेर यहाँ हात्तीका माउ बच्चा मरेका थिए। खोरसोरमा ढोईहरू जंगली हात्ती ध्रुवे, रोनाल्डो, गोविन्देसँगको संसर्गबाट गर्भवती हुने गरेका छन्। २०५४ सालयता यहाँ ६२ वटा छावाहरू जन्मिएका छन्।

प्रतिक्रिया दिनुहोस्