२५ फागुन काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीबीच चुनावी तालमेल भएको छ । चैत ३ गते हुने गइरहेको स्ववियु निर्वाचनका लागि तालमेल भएको हो । मध्यपश्चिम विश्वविद्यालयमा आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ । तालमेलपछि अखिल क्रान्तिकारीले सभापतिको उम्मेदवारी फिर्ता लिएको छ । र उसले नेविसंघका उम्मेदवारलाई सघाउनेछ भने सचिवमा नेविसंघले क्रान्तिकारीलाई सघाउनेछ । र नेविसंघले सचिवको उम्मेदवारी फिर्ता लिएको छ ।
क्रान्तिकारीको तर्फबाट स्ववियु सभापतिको उम्मेदवार बनेकी ममता अधिकारीको उम्मेदवारी फिर्ता भएको हो । नेविसंघका अध्यक्ष दुजाङ शेर्पा र अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चासिंहको उपस्थितिमा बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । मध्यपश्चिम विश्वविद्यालयका अन्य क्याम्पसहरूमा भने मित्रवत प्रतिस्पर्धा गरेर अगाडि बढ्ने सहमति भएको नेविसंघका नेता दिनेशकुमार शाहीले बताए ।
सहमतिअनुसार सुदूरपश्चिम विश्वविद्यालयमा भने अखिल क्रान्तिकारीलाई नेविसंघले सघाउनेछ । त्रिवि लगायत अन्य क्याम्पसहरूमा पनि आपसी सहमति गरेर निर्वाचन लड्ने शाहीले बताए । मध्यपश्चिम विश्वविद्यालयमा यसअघिको तीनवटा बाम विद्यार्थी संगठनबीच चुनावी तालमेल गर्ने सहमति भएको थियो । नेविसंघ सहमति गरेसँगै यसअघिको सहमति भंग भएको छ ।
अनेरास्ववियु, अखिल क्रान्तिकारी र अनेरास्ववियूबीच चुनावी तालमेल गर्ने सहमति भएको थियो । तर, अन्तिममा आएर केन्द्रीय क्याम्पसको हकमा सहमति भंग भएको हो । केन्द्रीय राजनीतिमा आएको उतारचढावका कारण उक्त सहमति भंग गर्नुपरेको विद्यार्थी नेताहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्