Ad imageAd image

विदेशी पार्सलमा गाँजाका पोका

खबर खुराक
खबर खुराक २६ फाल्गुन २०७९, शुक्रबार
2 Min Read
Aa

२६ फागुन काठमाडौं । केही दिनअघि त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा अमेरिकाको क्यालिफोर्नियाबाट चकलेट र बच्चाको खेल्ने सामानको नाममा पार्सल आयो। पार्सलको कभरमा चकलेटको नाम र खेल सामग्रीको नाम लेखिएको थियो। भन्सार चेकजाँचका क्रममा उक्त पार्सल केही शंकास्पद देखिएको थियो। पार्सलभित्र चकलेटको बट्टाबाट साढे चार किलो गाँजा बरामद भएको हो ।

लागूऔषध नियन्त्रण ब्युरोका प्रवक्ता चक्रराज जोशीका अनुसार उक्त पार्सल लिन आएका १ भारतीयसहित २ जना पक्राउ गरिएको छ। चकलेटको बट्टामा लुकाइछिपाइ गाँजा तस्करी गरी लैजान लागेका भारत गुजरात, मोती भावदी घर भएका ३० वर्षीय निमेश अशोकभाइ दयानी र हरिहरपुर–३ सर्लाही घर भएका २८ वर्षीय फैज आलम पक्राउ परेका छन्।

आलमको साथबाट भारतीय आधार कार्ड र ८० हजार नेपाली रुपैयाँ बरामद गरिएको छ। साथै निमेश बस्दै आएको ठमेलको एक होटलको कोठाबाट उनको पासपोर्ट र १ लाख ४० हजार भारतीय रुपैयाँसमेत बरामद गरिएको जोशीले बताए। यस्तै, क्यालिफोर्नियाबाटै आएको होम डेकोर वाटर फाउन्डेसन र चाइल्ड गेम आइटमको नाममा आएको पार्सल चेकजाँचका क्रममा साढे २ किलो गाँजा फेला परेको छ। प्रवक्ता जोशीका अनुसार उक्त पार्सल रिसिभ गर्ने नाममा गोरखा गण्डकी नपा–४ घर भई हाल काठमाडांै–१ खरीबोटबाट रुपक अर्याल पक्राउ परेका छन्। जोशीका अनुसार केही समययता पार्सलबाट लागूऔषध तस्करी हुन्छ भन्ने गोप्य सूचनाको आधारमा विमानस्थलको भन्सारमा कडाइ गरिएको छ। यसअघि पनि कहिले हिरोइन, कोकिन त कहिले चरेस विमानस्थलबाट बरामद हुँदै आएको छ। लागूऔषध तस्करमा विदेशी पनि संग्लन हुने गरेको पछिल्लो घटनाले बताउँछ।

‘हवाई मार्ग हुँदै विदेशी मुलुकबाट नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा आउने पार्सलहरूको सूक्ष्म निगरानी तथा चेकजाँच गर्ने क्रममा अमेरिकाबाट दुबई हुँदै नेपाल आएको पार्सलहरूबाट लागूऔषध गाँजा बरामद गरिएको हो’, जोशी भन्छन्।  पक्राउ परेकालाई लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्