२६ फागुन काठमाडौं । गुगलको लगानी रहेको ड्रोन निर्माता कम्पनी विङले लाखौं अर्डर धान्न सक्नेगरी ड्रोन नेटवर्क निर्माण गरेको छ । कम्पनीले हालै अष्ट्रेलियाको एक सहरमा याे प्रविधिकाे परीक्षण गरेको छ । जसमा एउटा ड्रोनले एक दिनमा एक हजार बढी सामान डेलिभरी गर्न सफल भएको दाबी गरिएकाे छ ।
कम्पनीले आयरल्याण्डको लक्स सहरमा समेत यसको परीक्षण तयारी गरिरहेको बीबीसीले उल्लेख गरेकाे छ । साथै बेलायतमा पनि ड्रोनमार्फत सामान डेलिभरीका लागि त्यहाँको यातायात तथा नागरिक उड्डययन विभागसँग छलफल भइरहेको बताइएको छ ।
कम्पनीका प्रमुख कार्यकारी एडम वुडवर्थका अनुसार ड्रोनमा आधारित डेलिभरी सिस्टम पुरानो ढुवानी सेवाको तुलनामा बढी डेटा केन्द्रित रहेको बताए ।
”परीक्षणको क्रममा हामीले खाद्यान्न, तयारी खाना यतिसम्म कि कफीसमेत ड्रोनमार्फत नै डेलिभर गरेका छौँ,” उनले भनेका छन्, ”परीक्षणकै चरणमा रहेकाले डेलिभरीका लागि कुनै शुल्क भने लिइएको छैन । तर, भोलिका दिनमा यसलाई व्यावसायिक रुपमा अघि बढाउँदा आर्थिक हिसाबले सक्षम हुनका लागि शुल्क निर्धारण पक्कै हुनेछ ।”
प्रतिक्रिया दिनुहोस्