२६ फागुन रामेछाप । कच्ची सडक जर्जर बनाएको तर मर्मतका लागि चासो नदिएपछि रामेछापको उमाकुण्ड गाउँपालिकाले लिखु जलविद्युत् आयोजनाका मेसिन औजार बोकेर गुड्ने सवारी साधन रोक्ने चेतावनी दिएको छ ।
आयोजना निर्माणको सुरुआती चरणदेखि नै स्थानीयको मागलाई अटेर गर्दै आएको गुडग समूहको लिखु जलविद्युत् आयोजनाका कारण गाउँपालिका जोड्ने मुख्य सडक जर्जर बनाएको तर मर्मतका लागि कुनै काम नगरेकोले बाध्य भएर आयोजनाका ढुवानी साधन रोक्न लागेको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले जनाएका छन् ।
बिग्रिएको सडक पालिकाले नै बनाउँछ तर आयोनजाको गाडी अब गुड्न पाउँदैनन्,’ सुनुवारले भने, ‘लिखु आयोजनाको अत्याचारको सीमा नाघेको छ ।’
सरकारले बनाएको सडकमा अत्यधिक भारवहन बोकेर गुड्ने साधनले सडक छियाछिया बनाएकाले साना सवारी साधन गुड्न नसक्ने अवस्था छ । ‘हामीले पटक–पटक आयोजनालाई सडक सुधार गर्नका लागि आग्रह गर्यौं,’ सुनुवारले भने, ‘आयोजनाका सञ्चालक वार्तामा बस्दा सबै हुन्छ भनेर सहमतिमा दस्तखत गर्ने तर मर्मतको काम नगरी अटेरीपन देखाउँदै आएका छन् । सधैँ अटेर गर्दा गाउँपालिकाका बासिन्दाले सडक यात्रामा सास्ती भोग्नुपरेको उनले गुनासो गरे ।
‘हिउँदयाममा खाडल छलेर गुड्न समस्या छ, वर्षामा कुनै पनि साधन चल्न नसक्ने गरी सडक बिगार्दै आएका छन्,’ सुनुवारले भने, ‘आयोजनाले आफ्ना साधनलाई मेसिनले तानेर पनि चलाउँछ, नागरिक कठिन पैदल यात्रा गर्न बाध्य हुन्छन्, यो अवस्थाको अन्त्य हुनुपर्छ भन्ने कुरा हाम्रो हो ।’
प्रतिक्रिया दिनुहोस्