२६ फागुन वीरगञ्ज । वीरगञ्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनलाई लिएर विवाद उत्पन्न भएको छ । आक्रोशित विद्यार्थीहरुले विद्यार्थी कल्याण तथा खेलकुद शाखामा आगजनी समेत गरेका छन् । आगजनीबाट कोठामा रहेको केही कागजपत्र जलेको प्रहरीले जनाएको छ ।
आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । अखिल क्रान्तिकारीका शिवम साह, अनेरास्ववियुका अभिषेक चौहान र सुजित गिरीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले आगो बेलैमा निभाईएकोले थप क्षति हुन नपाएको बताए । ‘विद्यार्थी कल्याण तथा खेलकुद शाखाको झ्याल खुल्लै रहेछ, प्लाष्टिकको बोतलमा प्रज्वलनशील पदार्थ सहित आगो लगाएर फालिदिएछन् ।’ उनले भने ‘केहि कागजपत्र जलेको छ, आगो निभाउने क्रममा थप केहि भिजेको छ । बेलैमा आगो निभाइएकोले ठूलो क्षति हुन पाएन ।’
आगो नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिकाको वारुण यन्त्र पनि ठाकुरराम बहुमुखी क्याम्पसमा पुगेको थियो । उनले पक्राउ परेकाहरुको आगजनीमा संलग्नता भए नभएको बारेमा अनुसन्धान भईरहेको समेत बताए ।
क्याम्पसका एक जना विद्यार्थी नेताका अनुसार निर्वाचन अधिकृतको कार्यालयले प्रारम्भिक मतदाता नामावली प्रकाशन गर्दा फर्जी नाम समावेश गरेपछि विवाद उत्पन्न भएको हो । झण्डै ८ सय विद्यार्थीको फर्जी नाम नामावलीमा समावेश भएको दावी विद्यार्थी संगठनका नेताहरुले गरेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले फागुन २१ गते १० हजार ६ सय २१ जनाको नामावली प्रकाशन गरेको थियो । त्यो प्रारम्भिक मतदाता नामावली भएको उनीहरुको भनाई छ । फागुन २५ गते दावी विरोध गर्ने क्रममा विद्यार्थी नेताहरुले मतदाता नामावलीमा नहुनुपर्ने विद्यार्थीको समेत नाम समावेश गरेको पत्ता लगाएका थिए । त्यसपछि विवाद उत्पन्न भएको थियो । जसले गर्दा निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली प्रकाशन गर्न सकिरहेको छैन ।
समस्या समाधानका लागि निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार गरेको छलफल पनि निष्कर्ष बिहिन भएको छ । निर्वाचन अधिकृतको कार्यालयले त्रुटि सच्याउने प्रतिबद्धता जनाउँदै निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गरेको थियो ।
फर्जी नाम समावेश भएको घटना बारे छानविन समिति गठन गरेर छानवीन गर्नुपर्ने, वदमासी गर्ने कर्मचारीलाई कारबाही गर्नुपर्ने, निष्पक्ष निर्वाचन गराउनुपर्ने माग उनीहरुले राखेका छन् । उनीहरुले विद्यार्थी कल्याण परिषद तथा निर्वाचन अधिकृतको राजीनामामा समेत मागेका थिए ।
नेपाल विद्यार्थी संघ ठाकुरराम बहुमुखी क्याम्पस एकाई समितिका निवर्तमान एकाई सभापति मनोज साहले घटनाबारे छानवीन हुनुपर्ने, त्रुटि गर्ने कर्मचारीलाई कारबाही हुनुपर्ने र निष्पक्ष निर्वाचन हुनुपर्ने माग आफूहरुले राखेको बताए ।
निर्वाचन अधिकृत रोशन लामिछानेले सर्वदलीय बैठक मार्फत समस्या समाधान गर्ने प्रयास भइरहेको बताए । ‘ बीबीएस तेस्रो वर्षका विद्यार्थीहरुको नाम समावेश भएको विषयमा त्रुटि देखियो, निर्वाचन समितिले नै वदमाशी गरेको हो भनेर विद्यार्थीले आरोप समेत लगाए ।’ उनले भने ‘ तर त्यो अन्तिम नामावली थिएन, मानवीय त्रुटि देखिएको थियो, त्यसैले फागुन २५ गते अन्तिम नामावली प्रकाशन गरेनौं, राति अबेरसम्म बसेर सच्याइसकेका छौं । विद्यार्थी संगठनसँग छलफल गरेर मात्रै अन्तिम नामावली प्रकाशन गर्ने भनेर आज बैठक डाकेका हौं ।’
उनले विवाद समाधान नभएकोले शुक्रबार मनोनयन पत्र वितरण गर्ने कार्यक्रम समेत स्थगित गरिएको बताए । मतदाता नामावलीका बारेमा छानवीन गर्न छानवीन समिति बनाउने, छानवीन समितिलाई तीन दिन समय दिने, चैत ५ गतेको निर्वाचनलाई असर नपर्ने गरि निर्वाचन कार्य तालिका संसोधन गर्नेगरि छलफल अघि बढाइएको उनले बताए ।
मतदाता नामावलीमा देखिएको त्रुटि छानबिन गर्न समिति गठन
मतदाता नमावलीका सम्बन्धमा देखिएको समस्या समाधानका लागि ठाकुरराम बहुमुखी क्याम्पस शिक्षण शाखाका सह प्राध्यापक रघुनाथ प्रसाद चौरसियाको संयोजकत्वमा छानवीन समिति गठन गरिएको छ ।
समितिमा निर्वाचनमा सहभागी हुनका लागि दर्ता भएका ३५ वटा विद्यार्थी संघ, संगठन तथा समूहका प्रमुख, प्राध्यापक, कर्मचारीको वैचारिक संगठन, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनीधि सदस्य रहनेछन् । समितिले तीन दिन भित्र निर्वाचन अधिकृतको कार्यालयलाई प्रतिवेदन दिनेछ । त्यसैको आधारमा निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली प्रकाशन गर्ने निर्णय भएको छ ।
निर्वाचन अधिकृत रोशन लामिछानेले छानवीन समितिले विद्यार्थीको नाम रुजु गरेर प्रतिवेदन पेश गर्ने बताए । समितिले बुझाउने प्रतिवेदनको आधारमा निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली तयार गरेर प्रकाशन गर्ने उनको भनाई छ ।
‘ मतदाता नामावलीमा देखिएको त्रुटिका कारण विवाद उत्पन्न भयो, त्यो नियतवस नभइर्ए भूलबस भएको मानवीय त्रुटि थियो ।’ उनले भने ‘ त्यसले गर्दा अन्तिम नामावली प्रकाशन गर्न सकेनौं । निर्वाचनको कार्यतालिका प्रभावित भएको छ । तर स्ववियु निर्वाचन तोकिएकै दिनमा गर्ने गरि संसोधित कार्यतालिका सार्वजनिक गर्छौ ।’
प्रतिक्रिया दिनुहोस्