२८ फागुन काठमाडौं । माघ मसान्तसम्ममा रेमिट्यान्स २७.१ प्रतिशतले वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको वित्तीय विवरणानुसार माघ महिनामा रेमिट्यान्स २७.१ प्रतिशतले वृद्धि भएर ६ खर्ब ८९ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ४.४ प्रतिशतले घटेको थियो ।
अमेरिकी डलरमा रेमिट्यान्स १६.४ प्रतिशतले वृद्धि भई पाँच अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष रेमिट्यान्स आयात ५.३ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ( संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५७.३ प्रतिशतले वृद्धि भई तीन लाख १४ हजार ७६७ पुगेको छ ।
यस्तै, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १०.१ प्रतिशतले वृद्धि भएर एक लाख ६७ हजार ७०८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २६५.९ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर २५.२ प्रतिशतले वृद्धि भएर सात खर्ब ५९ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.७ प्रतिशतले घटेको थियो ।
प्रतिक्रिया दिनुहोस्