२८ फागुन रुपन्देही । रुपन्देही जिल्लाको सैनामैना नगरपालिका बेमतेनीमा झारफुकका क्रममा बालिका मृत्यु भएको घटनामा हालसम्म संलग्न १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । यसैबीच जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बालिका मृत्यु प्रकरणका सम्बन्धमा सामाजिक सञ्जालमा प्रेषित भएका विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
यही फागुन २० गते प्रहरीले झारफुक गर्ने बाहानामा कुटपिट गरी बालिकाको हत्या गर्ने सैनामैना नगरपालिका वडा नंं. १० बेमतेनीका २२ वर्षीया झाक्री सोनिया रेश्मीलाई पक्राउ गरेको थियो । सैनामैना १० झिमझिमेका १४ वर्षीय सिता ज्ञवालीलाई झारफुक गर्ने क्रममा लछारपछार र कुटपिट गर्दा ज्ञवालीको फागुन २० गते राति साढे ९ बजे मृत्यु भएको थियो । मृतकको लासलाई सोही राती नै दाहसंस्कार गरी सकिएको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सालझणडीले रेश्मीलाई पक्राउ गरेको थियो ।
आवश्यक अनुसन्धानपछि रुपन्देही जिल्ला अदालत बाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धानलाई अघि बढाएको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक दिपक कुँवरले घटनाको अनुसन्धान भईरहेको बताउनु भएको छ । हालसम्म पक्राउ परेका १७ जनामाथि थप अनुसन्धान भईरहेको कुँवरले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्