२९ फागुन नयाँ दिल्ली । माओवादी केन्द्र निकट अखिल भारत नेपाली एकता मञ्च केन्द्रीय समितिको प्रशिक्षण र बैठक सम्पन्न भएको छ । माओवादी केन्द्रका संगठन विभागका प्रमुख तथा उपमहासचिव जनार्दन शर्माले उद्घाटन गरेको प्रशिक्षण र बैठकमा प्रवास समन्वय समितिका नेतृत्वका साथै मञ्चका नेताहरूको सहभागिता थियो ।
दिल्लीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले विगतमा माओवादीले परिवर्तनको नेतृत्व गरेजस्तै नेपाली समाजवादको मोडलको विकास गर्न पनि नेतृत्व लिनुपर्नेमा जोड दिए । जनताको अवस्था बदल्ने अवस्थाको नेपाली मोडल माओवादीले नै खोज्नुपर्ने धारणा राख्दै उनले पार्टीभित्रको वैचारिक क्षमतालाई वृद्धि गर्ने र वैचारिक अस्पष्टतालाई स्पष्ट गर्ने काममा लागिने समेत बताए ।
उनले खाडीदेखि मलेसिया र भारतसम्म रहेका श्रमिक युवालाई १५–२० वर्षमा देश बनाउन सकिन्छ भनेर भिजन तयार गरेर उनीहरूलाई विश्वास दिलाउन पार्टी लागिपर्ने पनि सो क्रममा बताए । ‘समाजवादको ठोस मोडल जनतालाई देखाउने बित्तिकै जनतामा उभार ल्याउन सकिन्छ’, उनले भने, ‘स्कुल विभाग प्रवासमा पनि चलाउनुपर्छ । निर्णयमा स्वामित्व र कार्यान्वयनमा पनि स्वामित्व हुनुपर्छ । कार्यकर्तामा पनि मूल्याङ्कन गर्ने परिपाटी बसाल्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस्