पाल्पा, २९ फागुन । केही दिनअघि पाल्पामा सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बढीमा एक घण्टामै नागरिकताको प्रमाणपत्र पाउने व्यवस्था मिलाउने बताउनुभएको छ ।
सोमबार पाल्पाका पत्रकारसँगको परिचयात्मक कार्यक्रममा उहाँले पाल्पाका नागरिकले अबदेखि एक घण्टा भित्रमै नागरिकताको प्रमाणपत्र पाउने बताउनुभएको हो । पाल्पा जिल्ला कुनै भारतीय कुनै सिमानामा पर्दैन् । दुइ नम्बरी गर्नेहरु प्रायः आउँदैनन् । सम्बन्धित वडाध्यक्षले आवश्यक सोधखोज गरी सिफारिस गरेका हुन्छन् । कागजी प्रक्रिया पूरा गरेर आएका कुनैपनि नागरिकलाई समयमै नागरिकताको प्रमाणपत्र उपलब्ध गराउने उहाँले बताउनुभयो । कागज पत्र ठीक भएका नागरिकले विगतका दिनमा जस्तो दिनभरिनै पर्खनु पर्दैन् । तर शंकास्पद वा कागजपत्रमा थप केही बुझ्न पर्ने अवस्था भएमा भने समय लाग्ने प्रजिअ बास्तोलाले बताउनुभयो ।
राहदानीका लागि फोटो खिच्ने कामलाई पनि द्रुत बनाइने उहाँले बताउनुभयो । ‘टोकन लिएर तीन महिनासम्म फोटो खिच्नकै लागि पर्खनुपर्ने अवस्था रहेछ’ उहाँले भन्नुभयो ‘अब कार्यालय आउने सबै सेवाग्राहीलाई सोही दिन फोटो खिचेर पठाउने गरी कर्मचारीलाई परिचालन गर्नेछु ।’ ६० जनालाई मात्र टोकन दिने प्रणालीको अन्त्य गर्नेछु । कार्यालयमा आवश्यक कागजपत्र मिलाएर आएका कुनैपनि व्यक्ति फेरि फोटा खिच्न आउनेगरी फर्कन नपर्ने उहाँले बताउनुभयो । राति अबेरसम्म बसेर पनि कर्मचारीले कार्यालय आइपुगेका सेवाग्राहीको काम गर्नेगरी व्यवस्था मिलाइने छ । राहदानीको लागि फारम व्यक्तिले आफ्नो अनुकूलताअनुसार भर्न सक्ने प्रजिअ बास्तोलाले बताउनुभयो । यद्यपि यसअघि टोकन लिइसकेकाहरूको काम सकेपछि यो व्यवस्था मिलाइने छ ।
पाल्पाको विकास निर्माणमा भइरहेका कामबारे विवरण मागिररहेको उहाँले बताउनुभयो । अपूर्ण आयोजनाका अवस्थासम्बन्धी जानकारी लिने काम भइरहेको छ । सम्पर्कमा नआएका ठेकेदारलाई सम्पर्कमा आउन केही दिनको समय दिने र नआएमा आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने उहाँले बताउनुभयो । आयोजनाको भौतिक प्रगति के छ ? कति रकम भुक्तानी भइसक्यो, कति काम सम्पन्न भयो, किन काम पूरा नभएको हो ? यसबारे सम्बन्धित निकायलाई सात दिन भित्र रिपोर्ट उपलब्ध गराउन भनेको छु । प्राप्त रिपोर्टका आधारमा निर्णय लिएर विकास निर्माणका कामलाई तीव्रता दिने उहाँले बताउनुभयो ।
पत्रकारलाई भनेकै समयमा सूचना उपलब्ध गराउन मातहतका कार्यालयलाई भनेको छु । प्रक्रिया मिलाएर मात्र होइन । फोनबाट मागेपनि पत्रकारलाई तत्काल सूचना उपलब्ध गराउनका लागि निर्देशन दिने उहाँले बताउनुभयो । सूचना लुकाउन पाइँदैन् । जे गर्छांै त्यो देखाउनुपर्छ । काम पनि देखाउन हो । सञ्चारमाध्यममा अनुहार पनि देखाउने हो । तर सुरक्षासम्बन्धी सूचनामा भने सबै पक्ष संवेदनशील हुनुपर्ने उहाँले बताउनुभयो ।
पत्रकारले राम्रो काममा साथ दिनुपर्ने र नराम्रो काममा खबरदारी गर्नुपर्ने प्रजिअ बास्तोलाले बताउनुभयो । पत्रकारको साथ सहयोगले आफूहरू सफल हुने र आम नागरिकले प्रभावकारी सेवा पाउने उहाँले बताउनुभयो ।
सुशासन कायम गर्न र सेवालाई छिटो छरितो बनाउन आफूले विशेष ध्यान दिने उहाँले बताउनुभयो ।
यसअघि डडेलधुरा, धनुषा र बर्दियामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी समालेका प्रजिअ बास्तोला केही दिनअघि मात्र पाल्पा सरुवा भएर आउनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्