Ad imageAd image

६ वर्षमा पनि पुरा भएन साढे तिन किलोमिटर सडक निर्माण

खबर खुराक
खबर खुराक ३० फाल्गुन २०७९, मंगलवार
3 Min Read
Aa

३० फागुन बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलको चौराहा–गोलपार्क सडक खण्डको साढे तीन किलोमिटर सडक ६ वर्षमा पनि पुरा हुन सकेको छैन । २०७३ चैत १७ गते ठेक्का सम्झौता भई २०७६ असोज १२ गतेसम्म काम सक्नुपर्ने भए पनि विभिन्न कारणले उक्त सडक निर्माण अझै पूरा हुन नसकेको हो । सुरुमा जग्गा विवादले रोकिएको सडक निर्माण प्रक्रिया पछि गएर ठेकेदार कम्पनीका विभिन्न बहानाका कारण ढिलाइ भएको हो । पछिल्लो पटक थपिएको म्यादमा २०८० असारसम्म सक्ने भनिए पनि अहिलेसम्म उक्त सडकको भौतिक प्रगति जम्मा ३० प्रतिशतमात्र रहेको सडक कार्यालय बुटवलले बताएको छ ।

द कञ्चनजंघा बिरुवा जेभी काठमाडौंले भ्याट र पीएससमेत गरी ५३ करोड ९७ लाख ९९ हजार ४६७ रुपैयाँ ३८ पैसामा सडक निर्माणको ठेक्का लिएको थियो । उक्त ठेकेदार कम्पनीले हालसम्म १३ करोड भन्दा बढी रकम भुक्तानी लगिसकेको छ । सडक विस्तारको काम तीन पटक म्याद थप्दा समेत पूरा नभएपछि स्थानीयहरू सास्ती व्यहोर्न बाध्य छन् ।

पछिल्लो समय ठेकेदारले सक्रियता देखाउँदै सडक सम्याउने तथा केही ठाउँमा कालोपत्रे काम सुरु गरे पनि अझै प्रभावकारी रुपमा काम नगरेको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख इन्जिनियर होमबहादुर एसीले बताए । उनले आफूहरूले सडक निर्माणको कामलाई तीब्रता दिन पटकपटक दबाब दिएको जानकारी दिँदै यस्तै भएमा ठेक्का तोड्न सक्ने चेतावनीसमेत दिए ।

अहिले बुटवलका बस पार्कदेखि मिलनचोक हुँदै पश्चिमाञ्चल फाईनान्ससम्म एकतर्फी सडक बनाएको छ । यस्तै ट्राफिक चोकमा पनि एकतर्फी मात्र सडक सञ्चालनमा ल्याइएको छ ।

- Advertisement -
Ad image

व्यापारीहरूलाई पीडा

बुटवलको मिलन चोकका दिनेश गैरे पसल सञ्चालन गरिरहेका छन् । तर सडक विस्तारका नाममा दिनभर उड्ने धुलोले बेहाल भएको उनी बताउँछन् । उनका छिमेकी सुरेश पाण्डेले पनि वर्षौंदेखि सडकभरि खाल्टाखुल्टीले र धुलोले गर्दा ग्राहक आउन छाडेको बताए ।

Untitled-2-Recovered

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजुले सडक समयमै नबन्दा व्यापारमा ठुलो नोक्सान भइरहेको बताए । उनले सडकका कारणले ग्राहकहरु पसलमा जान नरुचाउने बताए ।

व्यापार नभएपछि धेरै व्यापारीले घर भाडा तिर्न नसक्ने अवस्था सिर्जना भएको उनको भनाइ छ । केन्द्र सरकारको योजना भए पनि नगरपालिकाले समन्वय गरेर जतिसक्दो चाँडो सडक निर्माण सक्न पहल गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए । पछिल्ला दिनमा आफूहरूको दबाबले नै केही काम अगाडि बढेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्