३० फागुन बेइजिङ। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई चिनियाँ समकक्षी सी चिनफिङले बधाई सन्देश पठाएका छन् । मंगलबार पठाइएको शुभकामना सन्देशमा सीले उच्च गुणस्तरको ‘बेल्ट एण्ड रोड’ निर्माणको क्रमलाई अघि बढाउँदै मानवीय आदानप्रदान तथा सहयोगका क्षेत्र विस्तार गर्ने क्रममा सँगसँगै अघि बढ्ने अपेक्षा गरेका छन्।
साथै उनले विकास र समृद्धि उन्मुख युगौं युगसम्मको मैत्रीपूर्ण चीन-नेपाल रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई निरन्तर अगाडि बढाउने इच्छा पनि जाहेर गरेका छन्।
सन् १९५५ मा दौत्य सम्बन्ध स्थापना भएयता नेपाल र चीनबीचको सम्बन्ध निरन्तर स्वस्थ तथा स्थिर रुपमा अघि बढिरहेको भन्दै सीले यो सम्बन्धले ठूला र साना देशबीच शान्तिपूर्ण सहअस्तित्व, मित्रता र पारस्परिक सहयोगको उदाहरण देखाएको उल्लेख गरेका छन्।
उनले भनेका छन्, ‘चीन-नेपाल सम्बन्धको विकासमा उच्च महत्व दिँदै परम्परागत मित्रतालाई अगाडि बढाउन र दुई देशबीचको राजनीतिक विश्वासलाई मजबुत बनाउनका लागि महामहिम राष्ट्रपति पौडेलसँगै मिलेर काम गर्ने इच्छा मैले लिएको छु।’
राष्ट्रपति पौडेललाई यसअघि भारतीय समकक्षी द्रौपदी मुर्मू लगायतका विदेशी उच्च अधिकारीहरूले बधाई तथा शुभकामना दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्