पाल्पा, २ चैत । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था हार्थोक शाखाले बिहिबार किसानलाई तालिम दिएको छ ।
रिब्दीकोट गाउँपालिका–७ का किसानलाई बेमौसमी तरकारी खेतीबारे तालिम दिइएको हो । काँक्रा, बोडी, सिमी, टमाटर लगायतका बोमौसमी तरकारी खेती गर्नेबारे तालिम दिइएको शाखा प्रमुख सपना सुनामले बताउनुभयो । ‘परिश्रम गरौं, आर्थिक रुपमा आत्मनिर्भर बनौं’ भन्ने उद्देश्यले यो तालिम आयोजना गरिएको हो । संस्थाअन्तर्गतका विभिन्न समूहमा आवद्ध महिला सदस्यलाई आर्थिकोपार्जनमा टेवा पु¥याउने उद्देश्यले तालिम दिइएको उहाँले बताउनुभयो । समूह सदस्यका मागअनुसार विभिन्न सिपमूलक तालिम पनि सञ्चालन गर्दै आएको प्रमुख सुनामले बताउनुभयो ।
तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि रिब्दीकोट गाउँपालिका –७ का वडाध्यक्ष दानबहादुर कुवँरले यस्ता खालका तालिमले निर्वाहमुखी खेती गर्दै आएका किसानलाई व्यवसायिक बन्न सहयोग पुग्ने बताउनुभयो । अधिकांश बैंक तथा वित्तीय संस्था ऋण मात्रै लगानी गरेर ब्याज असुल्ने प्रवृत्ति बढिरहेका बेला यस संस्थाले आफ्ना सदस्यलाई आर्थिक उपार्जनमा सहयोग पुग्ने गरी आयोजना गरे यो तालिम प्रशंसनीय भएको बताउनुभयो । कुनै पनि वित्तीय संस्थाबाट ल्याएको ऋणको सही सदुपयोग गरेर व्यवसायी बन्न कुवँरले सुझाव दिनुभयो ।
रिब्दीकोट गाउँपालिकाका कृषि अधिकृत सुरेन्द्र यादवले मेहनती किसानलाई सरकारले पनि आवश्यकता अनुसार सहयोग गर्दै आएको बताउनुभयो । व्यवसायिक रुपमा तरकारी खेती गर्न सके पैसा कमाउनकै लागि विदेशी भूमिमा जानुनपर्ने बताउनुभयो । जनउत्थान लघुवित्तले दिएको यो तालिमले आम कृषकलाई व्यवसायिक खेतीतर्फ प्रोत्साहित गर्ने उहाँले बताउनुभयो ।
आफूले गर्ने खेतीबारे तालिम र सिप सिकेर व्यवसाय गर्न कृषि प्राविधिक रन्जिव कुवँरले आग्रह गर्नुभयो । आधुनिक प्रविधिको प्रयोग गरेर खेती गर्न सके मनग्य आम्दानी हुने उहाँले बताउनुभयो ।
५५ जना किसान सहभागी रहेको तालिममा कर्मा ग्रुप प्रालिका कृषि प्रबन्धक सागर कार्कीले सहजीकरण गर्नुभएको थियो ।
यसैबीच तालिममा सहभागी किसानलाई बोडी र सिमीको बिउ बितरण गरिएको थियो ।
यस्तै विद्युतीय चुलोको प्रयोग, यसबाट हुने फाइदाका बारेमा पनि जानकारी गराइएको थियो ।
प्रतिक्रिया दिनुहोस्