३ चैत काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त बोर्ड सदस्य (कानून) पदका लागि छ जनाको दरखास्त परेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दरखास्त दिने अन्तिम म्याद बुधबारसम्म सो संख्यामा उम्मेदवारी परेको हो ।
दरखास्त दिनेमा प्राधिकरणका निवर्तमान बोर्ड सदस्य हेमकुमार श्रेष्ठसँगै कृष्ण पोखरेल, प्रविन सुवेदी र सङ्कल्प क्षेत्री रहेका छन् । त्यस्तै मञ्जु गौतम (नेपाल) र सुवाश लामिछानेले समेत आवेदन दिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले गत १७ फागुनमा प्राधिकरणको कानून सदस्य पदको लागि योग्य व्यक्तिहरूबाट आवेदन माग गरेको थियो । जसका लागि कानून विषयमा कम्तिमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा सात वर्षको अनुभव प्राप्त गरेका नेपाली नागरिकले आफ्नो व्यावसायिक कार्ययोजना सहित आवेदन दिन भनिएको थियो ।
मन्त्रालयले आवेदक छ जना मध्येबाट मूल्याङ्कन गरी तीन जनाको संक्षिप्त सूची मन्त्रिपरिषद्मा पठाउनेछ । सोही आधारमा मन्त्रिपरिषद्ले एक जनालाई प्राधिकरण बोर्ड सदस्यमा नियुक्त गर्नेछ । प्राधिकरणमा अध्यक्ष सहित पाँच सदस्यीय बोर्ड रहने व्यवस्था रहेको छ ।
प्रतिक्रिया दिनुहोस्