८ चैत रामेछाप । रामेछापको सीमा भएर बग्ने लिखु नदीमा पानी सुकाएर लिखु–३ जलविद्युत् आयोजनाले सुरुङमा हालेपछि स्थानीयले पानीको समस्या भोग्न थालेका छन् । ‘घरायसी प्रयोजनका लागि पानी नै नदिई लगेका छन्’ स्थानीय सुमित्रा राई सुनुवार भन्छिन् ‘पोकली खोलाको पानीको भरमा किसानको कुलो चल्न छोडेको छ ।’ किसानले कुलोमा पानी नचढेपछि मेसिन लगाएर कोशीको पानी तानेर कुलोमा हाल्न बाध्य भएको उनले बताइन् ।
जलविद्युत् आयोजनाले कृषि, वातावरण र जलचरका लागि नदीमा कम्तिमा पनि १० प्रतिशत पानी छोडेर मात्र अरु पानी लैजान पाउने व्यवस्था रहेको तर आयोजनाले उक्त नियमानुसार नदीमा पानी नछोडेको गुनासो लिखु तामाकोशी गाउँपालिका २ सैपुका वडा अध्यक्ष सन्तोष पौडेलले गरेका छन् । ‘हामी गइहाल्यौं भने पानी खोलेको जस्तो गर्छ अन्यथा थोपो पानी छोड्दैन’ पौडेलले भने ‘जति पटक भन्दा पनि लागेको छैन ।’
पौडेलका अनुसार लिखु ३ जलविद्युत् आयोजनाको बाँधभन्दा केही मिटर मात्र तल पोकली खोला दोभान पर्छ । पोकली खोलाको पानी अपुग छ । ‘त्यहीं पानी देखाएर मैले छोडेको भन्दै आयोजना पन्छिदै आएको छ । पोकली खोलाको पानी थोरै भएकाले लिखु नदीका जलचर र कृषिका लागि पुग्दैन’ पौडेले भने ‘नदी सुकाइएको छ ।’ तर लिखु–३ आयोजनाका इन्जिनियर रविन्द्र तिमल्सिना स्थानीयको उक्त गुनासोमा सत्यता नभएको दाबी गर्छन् । तिमिल्सीनाले भने ‘न्यूनतम पानी छाडिएको छ, कुलोमा नचढेपनि मेसिनले तानेर ठाउँठाउँमा पानी जमाएर भएपनि कुलो चल्ने बनाइदिएका छौं ।’
आयोजनाको पावर हाउस क्षेत्रमा पर्ने रातामाटासम्म लिखुबाट कुलो मार्फत पानी पुग्दै आएको उनले दाबी गरे । ‘कुनैबेला कम वा कुनै बेला बढी होला तर किसानको आवश्यकता पूरा हुनेगरी पानी छोडेका छौं’ उनले भने ‘यति नै पानी छोड्यौं भनेर नाप्ने त गरिएको छैन ।’ किसानलाई नै समस्या हुने गरी आयोजनाले पनि आफ्नो व्यवसाय गर्न नसक्ने उनले बताए । समय समयमा जनप्रतिनिधिहरुलाई अनुगमनका लागि आग्रह गर्ने गरिएको उनले बताए ।
२८.१ मेगावाट क्षमताको लिखु– ३ जलविद्युत आयोजनाले पानीकै अभावमा हाल ८ मेगावाट मात्र विद्युत् उप्पादन गर्दै आएको छ । ‘यो सुक्खा समयमा पानी नपरेकोले पनि नदी सानो छ’ तिमिल्सिनाले भने ‘त्यसमाथि यसै वर्षदेखि हामीले विद्युत् उत्पादन गर्न थालेकोले किसानले पहिलेजस्तो पानी नदेख्दा अभावजस्तो महसुस गरेको हुनुपर्छ ।’
लिखु ३ आयोजनाका कारण पोकली दोभानभन्दा दक्षिणतर्फको नदीमा पानी देखिँदैन । जलचरका लागि पानीभन्दा पनि करेन्ट अभिसाप भएको तिमिल्सिनाले बताए । ‘पानी छोडेर मात्र हुँदैन जलचरको संरक्षणका लागि करेन्ट लगाएर माछा मार्ने काम रोक्नुपर्छ’ उनले भने । यता जलविद्युत् आयोजनाले स्थानीयको जनगुनासो सम्वोधन नगरेको र प्रयोग गर्दै आएको सडक समेत मर्मतमा चासो नदिएको भन्दै लिखु १ र २ आयोजनाका सवारी साधन रोक्ने उत्तरी रामेछापको उमाकुण्ड गाउँपालिकाले चेतावनी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्