१२ चैत ,तिलोत्तमा । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका ३ जना खेलाडीलाई नगदसहित सम्मान गरेको छ । तिलोत्तमाले राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याटस्पर्सन कुशल भुर्तेल, मौसम ढकाल तथा यू–१९ क्रिकेट टिमका कप्तान देव खनाललाई सम्मान गरेको हो । आइतबार एक कार्यक्रमबीच नगरपालिकाले खेलाडीहरुलाई जनही ५० हजार रुपैयाँसहित सम्मान गरेको हो ।
एकदिवसीय विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल पुरुष राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई नगरपालिकाले सम्मान गरेको हो ।
यस्तै, यू–१९ टिमका कप्तान खनालले टिमलाई जित दिलाउँदै सन् २०२४ मा श्रीलंकमा हुने यू–१९ विश्वकपका लागि छनोट गराउन सफल भएका छन् । नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख रामकृष्ण खाँण र उपप्रमुख जगेश्वरदेवी चौधरीले तीनै जना खेडालीलाई प्रशंसापत्रसहित नगद पुरस्कार वितरण गरे ।
सो अवसरमा नगर प्रमुख खाँणले तिलोत्तमालाई क्रिकेट हबको रुपमा विकास गर्न सकिने सम्भावना रहेको बताए । खेलको माध्यमबाट भौतिक पूर्वाधार तथा मानवीय विकासमा समेत टेवा पुग्ने उनले बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा उत्कृष्ट खेल प्रदर्शन गर्दै तिलोत्तमा र सिंगो मुलुकलाई पहिचान दिलाएको भन्दै सम्मानित खेलाडीलाई उनले शुभकामना दिए ।
उपप्रमुख चौधरीले खेलाडीहरुले खेलमार्फत तिलोत्तमालाई पनि विशेष रुपमा पहिचान दिलाउन सफल भएको बताइन् । खेलाडी उत्पादनका लागि तिलोत्तमा नगरपालिकाले आवश्यक पहल जारी राखेको भन्दै चौधरीले खेलकै माध्यमबाट तिलोत्तमालाई परिचित गराउन पाउनु गौरवको विषय भएको बताइन् । सम्मान ग्रहण गर्दै क्रिकेटर भुर्तेलले सबैको साथ समर्थनले नै आफू र आफनो टिमले सफलता हासिल गरेको बताए । आफूहरुलाई सम्मान गरेर तिलोत्तमाले थप नयाँ र प्रतिभावान खेलाडी उत्पादनका लागि अवसर सिर्जना गरेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्