१३ चैत ,काठमाडौँ । निर्धारित समयमै मलेसियाको नागरिक उड्डयन कार्यालयमा फरेन एयर अपरेटर सर्टीफिकेट (एफएओसी) नवीकरण नगरेका कारण नेपाल वायुसेवा निगमले त्यहाँ गर्दै आएको नियमित उडान मंगलबारदेखि गर्न नपाउने भएको छ ।
तर, निगमले गत बुधबारमात्रै फरेन एयर अपरेटर सर्टीफिकेट (एफएओसी) नवीकरणको प्रक्रिया थालेको थियो । ‘६ दिनअघि हामीले स्टान्डर्ड चार्टर्ड बैंकमार्फत प्रमाणपत्र नवीकरणका लागि २२ सय रिंगेट पठाएका छौं,’ यो विषयलाई हेरिरहेका वाणिज्य विभागका ती अधिकारीले भने,‘मलेसियाले अब कहिलेसम्म नवीकरणको काम सक्छ त्यसबेलासम्म हामीले नियमित उडान गर्न मिल्दैन ।’
मलेसियासँग नेपालले सातामा २८ वटा उडान गर्न पाउने हवाई सम्झौता छ । निगमले सातामा ५ उडान गर्दै आइरहेको थियो । तर, सोमबारपछि एफएओसी नवीकरण नभएका कारण काठमाडौं–क्वालालमपुर–काठमाडौं नियमित उडान गर्न नपाउने भएपछि आइतबार निगमले त्यहा चार्टर उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको थियो ।
प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार उसले पठाएको पत्रमा मंगल, बुध, बिही र शनिबार गरी चारवटा चार्टर उडान गर्न दिन अनुमति मागेको थियो । प्राधिकरणको हवाई यातायात विभागले टिकट लिइसकेका यात्रु तथा कामदारलाई मर्का पर्नसक्ने जनाउँदै निगमलाई चार्टर उडान जारी गर्ने प्रक्रियामा रहेको सहप्रवक्ता भुलले बताए । तर प्राधिकरणले निगमलाई सोमबार नियमित उडान नगरी चार्टर उडान गर्नुपर्ने कारण के हो भनी स्पष्टीकरण सोधेको छ ।
‘नेपाल र मलेसिया सरकारबीच भएको हवाई सम्झौता बमोजिम प्रति हप्ता १४ वटा नियमित उडान संचालन गर्न पाउने व्यवस्था भए पनि सो वृत्तखण्डमा नियमित उडान संचालन नगरी यात्रु चार्टर उडान संचालनका लागि अनुमति माग गरिएको विषयमा स्पष्टीकरण सोधिएको छ,’ प्राधिकरणले आफ्नो ट्विटरमा लेखेको छ ।
निगमका एक उच्च व्यवस्थापकका अनुसार मलेसियाले सन् २०१९ देखि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड अनुसार निगमलाई फरेन एयर अपरेटर सर्टीफिकेट अनिवार्य लिनुपर्ने नियम बनाएको छ ।
उनका अनुसार उसले नवीकरणको समय सकिनुअघि नै पटक पटक इमेल पठाएको थियो । ‘मलेसियामा नवीकरण आजको भोलि नै हुँदैन । त्यहाँ हामीले सबै प्रक्रिया पूरा गरी डकुमेन्ट बुझाइसकेपछि नवीकरण भएको प्रमाणपत्र जारी गर्न ३० दिन लाग्छ । नेपालमा जस्तो भनसुनका भरमा काम हुँदैन । यो ढिलाइ हुनुमा मलेसियामा रहेको निगमको स्टेशन, निगमको काठमाडौंस्थित वाणिज्य विभाग र अपरेशन विभागको कमजोरी भयो । यसबाहेक कार्यकारी अध्यक्षको प्राथमिकतामा पनि परेन,’ निगमका ती उच्च व्यवस्थापकले भने ।
प्रतिक्रिया दिनुहोस्