मस्तिष्कमा करोडौं नसा हुन्छन् । ती नसाहरुमा ‘इलेक्ट्रिक डिस्चार्ज’ पैदा भइरहेको हुन्छ । छारे रोग भनेको मस्तिष्कबाट पैदा हुने चीज हो । जहाँ मस्तिष्कको नसा चाहिने भन्दा बढी चल्छ एक किसिमको ‘करेन्ट’ प्रवाह हुन्छ ।
‘जसको दिमाग छ, त्यो व्यक्तिलाई छारे हुन सक्छ’ किनकि यो दिमागबाट उत्पन्न हुने विकार हो । मान्छेको जन्मदेखि अन्तिम अवस्थासम्म पनि छारे हुन सक्ने नेसनल न्युरो सेन्टरका वरिष्ठ न्युरोलोजिस्ट डा. लेखजंग थापा बताउँछन् ।
बच्चाको दिमागमा अक्सिजन नपुग्ने, चोट लाग्ने, दिमागमा जुकाको कारण हुने संक्रमण, वंशाणुगत कारण र ट्युमर लगायत कारणले छारे रोग लाग्न सक्छ । तर यो रोग लागेको लागेको २० देखि ३० प्रतिशतमा केही कारण नभेटिन पनि सक्ने डा. थापा बताउँछन् । ‘१२ वर्षदेखि ४० वर्षसम्मको उमेर समूहलाई यसले बढी सताउँछ,’ उनी भन्छन् ।
लक्षण वा संकेत
दिमागको नसामा अत्यधिक इलेक्ट्रिक डिस्चार्ज हुँदा बाहिरी लक्षण देखिन्छ । छारे रोग लागेका व्यक्ति ढलेर हातखुट्टा फाल्ने, दाँत किट्ने, मुखबाट गाज निकाल्ने, कपडामा पिसाब फेर्ने जस्ता लक्षण तथा संकेत देखिन्छ । ‘कहिलेकाहीं हामी बच्चालाई टोलाइरहेको देख्छौं, त्यो पनि छारे रोगको लक्षण हो,’ डा. थापा भन्छन् ।
छारे रोगको कारण
दिमागमा धेरै भाग हुन्छन् । तीमध्ये कुनै भागको सहायताले हामी देख्छौं, कुनैको सहायताले बोल्छौं, कुनै भागले सोच्छौं । अनि कुनै भागको सहायताले हातखुट्टा चलाउँछौं । दिमागको जुन भागको नसामा छारे रोगको असर पर्छ त्यही भागमा लक्षण देखिने डा. थापा बताउँछन् ।
‘जस्तै, हातखुट्टाको नसामा छारेको असर पर्दा हातखुट्टा झट्कार्ने र ढल्ने समस्या देखिन्छ,’ उनी भन्छन्, ‘आँखाको नसाबाट छारे रोग भयो भने आँखामा झिल्का आउने हुन्छ । याद आउने नसामा छारे भयो भने भुल्ने र टोलाउने लक्षण देखिन्छ ।’
यस्तो अवस्थामा के गर्ने त ?
छारे रोगको समस्या भएको मान्छेले त्यसलाई नियन्त्रण गर्न सक्दैनन् । विशेषगरी ढल्ने छारेमा त झन् आफूलाई सम्हाल्न सक्दैनन् । त्यस्तो अवस्थामा वरपरको व्यक्तिले उसलाई सम्हाल्नुपर्ने हुन्छ । त्यसैले छारेको बारेमा सबैले बुझ्न जरुरी भएको डा. थापा बताउँछन् ।
‘छारे भएर वरपर कोही व्यक्ति ढलेको छ भने उसको वरपर भएको चोट लाग्ने चीजलाई हटाइदिनुपर्छ,’ उनी भन्छन्, ‘टाउकोमा नरम सिरानी छैन भने नरम ज्याकेट पट्याएर राखिदिनुपर्छ । जसले गर्दा टाउकोमा चोट लाग्न पाउँदैन ।’
हातखुट्टा झट्कारेको बेलामा हातखुट्टा बेस्सरी समात्नु हुँदैन, त्यसो गर्दा हातखुट्टामा उल्टै चोट लाग्न सक्छ । त्यसैले यस्तो अवस्थामा हातखुट्टामा बेस्सरी समात्न नहुने थापा सुझाउँछन् ।
‘यस्तो बेला पानी खुवाउने गरेको पनि पाइन्छ, पानी तथा अन्य खानेकुरा पनि मुखमा राखिदिनु हुँदैन सर्किन सक्छ,’ डा. थापा भन्छन्, ‘यस्तो बेला दाँत किट्दा चम्चा राखिदिने चलन पनि हुन्छ । यस्तो गर्दा झन् चोट लाग्न सक्छ, त्यसैले दाँतमा पनि चम्चा राखिदिनु हुँदैन ।’
कसिलो सर्ट लगाएको छ भने खोलिदिनुपर्छ, जसकारण उक्त व्यक्तिले अक्सिजन पाओस् । ढलेको व्यक्तिको अघि भीडभाड गर्दा पनि उसलाई अक्सिजनको कमी हुन सक्छ, त्यसैले बिरामीको अगाडि धेरै भीड गर्न नहुने डा. थापा सुझाउँछन् ।
‘छारे लागेको बेला उसले लुगामा पिसाब गरेको छ वा उसको लुगा मिलेको छैन भने त्यसलाई कपडाले छोप्छ । यसो गर्दा सञ्चो भएपछि उसलाई त्यो कुराले लाज हुँदैन,’ उनी भन्छन्, ‘छारेको झट्का रोकिएपछि बायाँ तथा दायाँपट्टि कोल्टो बनाएर राखिदिनुपर्छ । यसो गर्दा मुखको ¥याल बाहिर आउँछ र सर्किदैन ।’
मोजा सुँघाउनु उपचार होइन
‘साधारण रुघा लाग्दा औषधि खाएपनि सात दिनमा निको हुन्छ, नखाएपनि सात दिनमा निको हुन्छ,’ डा. थापा भन्छन्, ‘त्यस्तै छारे आउँदा मोजा सुँघाएपनि दुईदेखि पाँच मिनेटमा निको हुन्छ र नसुँघाए पनि । त्यसैले मोजा सुँघाएर निको हुन्छ भन्नु पुरातन धारणा मात्र हो, यसमा कुनै वैज्ञानिक आधार छैन ।’
छारे रोगको उपचार
सबैभन्दा पहिले त औषधिबाटै छारे रोगको उपचार गरिन्छ । औषधिको सेवनले पनि निको भएन भने शल्यक्रियामार्फत पनि उपचार गरिन्छ । शल्यक्रिया गर्नुअघि ‘ईईजी’, ‘एमआरआई’ गरेर शल्यक्रिया गर्न मिल्छ कि मिल्दैन भनेर सल्लाह गरेर मात्र शल्यक्रिया गर्ने सल्लाह दिइने डा. थापा बताउँछन् ।
‘यसको उपचारमा परामर्श एकदमै जरुरी हुन्छ । किनकि कहिलेकाहीं मानसिक समस्यामा पनि छारे जस्तै देखिने लक्षण देखिन्छ । त्यसैले यस्तो अवस्थामा मानसिक परामर्शको पनि जरुरी हुन्छ,’ उनी भन्छन्, ‘यसरी औषधि, परामर्श र शल्यक्रिया तीनवटा तरिकाबाट छारेको उपचार हुन्छ ।’
छारे रोग लाग्नै नदिन के गर्ने ?
कुनै पनि रोग लागेपछि उपचार गर्नुभन्दा लाग्नै नदिनु राम्रो हो । त्यसैले छारेबाट बच्न निम्म कुरामा ध्यान दिन सकिने डा. थापा सुझाउँछन् ।
– गर्भ अवस्थामा र बच्चा जन्मिने बेला विशेष ध्यान दिनुपर्छ । यस्तो बेला समस्या भयो भने बच्चाको दिमागमा चोट लाग्छ र छारे हुन सक्छ । त्यसैले बच्चा जन्माउने बेला अस्पतालमा विशेषज्ञको सहयोग लिंदा यसबाट बच्न सकिन्छ ।
– रक्सीको सेवनले पनि छारे हुन सक्छ । त्यसैले रक्सी सेवन नगरेर यसबाट बच्न सकिन्छ ।
– सवारी साधन चलाउँदा सावधानीपूर्वक चलाउने, बाइक चलाउँदा हेलमेट लगाएर मात्र चलाउने यसो गर्दा टाउकोमा चोट लाग्नबाट बचिन्छ र छारेबाट पनि बच्न सकिन्छ ।
– पक्षघातबाट बच्नु भनेको पनि छारेबाट बच्नु हो । त्यसैले पक्षघातबाट बच्न राम्रो खानपान, व्यायाम गर्ने, मोटोपन घटाउनुपर्छ । तनावरहित रहने र मधुमेह तथा उच्च रक्तचापबाट बच्न सक्ने पनि छारे रोग हुनबाट जोगिन सकिन्छ ।
अनलाइनखबरबाट।।।।
प्रतिक्रिया दिनुहोस्