१६ चैत ,काटमाडौं । मोबाइल वर्ल्ड कांग्रेश २०२३ मा एन्ड्रोइडमा आउन लागेका विभिन्न नयाँ फिचरहरू सार्वजनिक भएका थिए । सोही कार्यक्रममा आफ्नो अपरेटिङ सिस्टमलाई अझ उत्कृष्ट बनाउन गुगलले विभिन्न नयाँ फिचर ल्याउने घोषणा गरेको थियो । सो घोषणा अनुरूप चार नयाँ फिचर उपलब्ध भइसकेका छन् भने पाँच नयाँ फिचर भने चाँडै नै उपलब्ध हुने कम्पनीले जनाएको छ ।
हाल उपलब्ध नयाँ फिचर:
१. नयाँ ईमोजी
हरेक सफ्टवेयर अपडेटमा गुगलले आकर्षक ईमोजीहरू उपलब्ध गराइरहेको हुन्छ । यो पटक पनि कम्पनीले नयाँ ईमोजी फिचर उपलब्ध गराएको छ । यसमा पहिले भएका ईमोजीलाई जोडेर नयाँ ईमोजी बनाउन सकिन्छ ।
२. क्रोमका लागि पेज जुम फिचर
गुगलले क्रोमका लागि नयाँ बेटा भर्सन सार्वजनिक गरेको छ । जसका माध्यमबाट क्रोममा देखिने कन्टेन्टलाई ३०० प्रतिशतसम्म जुम गरेर हेर्न सकिन्छ । यो फिचरले शारीरिक अपाङ्गता भएका प्रयोगकर्तालाई सहज हुने आशा गरिएको छ ।
३. गुगल मिटमा न्वाइज क्यान्सिलेसन फिचर
गुगलको टेलिकन्फ्रेन्सिङ प्लेटफर्म ‘गुगल मिट’मा कम्पनीले न्वाइज क्यान्सिलेसन फिचर समावेश गरेको छ । उक्त फिचरका माध्यमबाट तपाईँको ब्याकग्राउन्डमा भएको न्वाइज कम हुनेछ । र, तपाईँ सहभागी भएको मिटिङमा गुणस्तरीय आवाज आउनेछ ।
४. गुगल ड्राइभमा नयाँ फिचर
गुगल ड्राइभको नयाँ अपडेटमार्फत पीडीएफ फाइलमा सजिलै हाइलाइट गर्न सकिने भएको छ । त्यसका लागि एप अपडेट गरेर पीडीएफ फाइल छानेर एडिटको अप्सनमा जानुहोस् । त्यसपछि हाइलाइटको अप्सन छानेर टेस्टलाई छान्नुभयो भने टेक्सलाई मात्र सजिलै हाइलाइट गर्न सकिन्छ ।
उपलब्ध हुन बाँकी फिचरहरू:
५. होम स्क्रिनमा गुगल किप
अब प्रयोगकर्ताले छिट्टै नै होम स्क्रिनबाटै गुगल किप प्रयोग गर्न सक्ने भएका छन् । कम्पनीले ल्याउन लागेको ‘गुगल किप’, विगेटका माध्यमबाट होम स्क्रिनबाटै नोट्समा फोटो राख्न र कस्टमाइज गर्न सक्नेछन् ।
६. वेयर ओएसमा पनि गुगल किप
गुगलले छिट्टै नै आफ्नो वेयर अपरेटिङ सिस्टममा पनि गुगल किप एप इन्ट्रिगेट गर्ने भएको छ । नयाँ आउने अपडेटबाट प्रयोगकर्ताले गुगलको वेयरेबल डिभाइसमा ‘गुगल किप’ देख्न सक्नेछन् ।
७. वेयर ओएसमा नयाँ एक्सेसिबिलिटी फिचर
वेयर ओएसकै कुरा गर्नुपर्दा गुगलले नयाँ अपडेटमार्फत यसमा एक्सेसिबिलिटीको अप्सन पनि समावेश गर्ने भएको छ । त्यस्तै गुगल स्मार्टवाचमा नयाँ मोनो अडियो मोड पनि उपलब्ध हुनेछ । साथै आँखा कम देख्ने प्रयोगकर्ताका लागि गुगलले कलर करेक्सन र ग्रेस्केल मोड ल्याउने बताएको छ ।
८. गुगल पे नयाँ एनिमेसन
आगामी हप्ताबाट सुरु हुने गरी गुगलले गुगल पेमा भएको एनिमेसनलाई कस्टमाइज गर्न सकिने फिचर थप गर्दैछ । प्रयोगकर्ताले भुक्तानी गर्नेबेला देखिने एनिमेसनलाई आफू अनुकूल कस्टमाइज गर्न सक्नेछन् ।
९. क्रोमबुकमा ब्लुटुथ डिभाइस छिटो पेयर गर्न सकिने
क्रोमबुक प्रयोगकर्ताले नयाँ अपडेट आएपछि आफ्नो डिभाइसमा विभिन्न ब्लुटुथ डिभाइस पहिलेभन्दा छिटो पेयर गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्