Ad imageAd image

मेलम्ची खानेपानी ल्याउनका लागि थप पाइप बिछ्याइँदै

खबर खुराक
खबर खुराक १९ चैत्र २०७९, आईतवार
2 Min Read
Aa

१९ चैत ,काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी उपत्यकामा ल्याउन सुन्दरीजलबाट जोरपाटी खण्डमा आवश्यक पर्ने थप पाइप बिछ्याउन सुरू गरिएको छ।

सुन्दरीजलबाट जोरपाटीसम्म ११ किलोमिटर लम्बाइमा हाल रहेको पाइप पर्याप्त नभएकाले थप पाइप बिछ्याउन लागिएको हो। मेलम्चीको पानी पहिले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा जान्छ। केन्द्रमा प्रशोधन भएपछि यही बाटो भएरै उपत्यकाका अरू स्थानमा जान्छ।

अहिले भइरहेको पाइपबाट हाल पानी ल्याए पनि भविष्यमा थप पानी ल्याउन थप पाइप आवश्यक रहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ।

मेलम्ची खानेपानी आयोजना सम्पन्न हुँदा दैनिक ५१ करोड लिटर पानी उपत्यका आउनेछ। दैनिक ५१ करोड पानी आउँदा त्यसका लागि आवश्यक पाइप बिछ्याउन लागिएको निर्देशनालयका सूचना अधिकारी चन्द्रकुमार पन श्रेष्ठले जानकारी दिए। सुन्दरीजलबाट काम सुरू गरेर चाबहिलतर्फ गर्दै जाने योजना रहेको उनले बताए।

- Advertisement -
Ad image

एक हजार आठ सय र एक हजार छ सय मिलीमिटर (एमएम) को जिआइ पाइप बिछ्याउन लागिएको हो। पहिले बिछ्याइएको पाइपको क्षमता २२ करोड लिटर रहेकामा अब २८ करोडको बिछ्याउन लागिएको निर्देशनालयले जनाएको छ। अहिले हिउँदमा दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यका ल्याइएको छ। अहिले पनि वर्षामा दैनिक ५१ करोड लिटरसम्म पानी ल्याउन सकिने सम्भावना छ।

‘क्षमताअनुसारको पानी ल्याउन थप पाइप आवश्यक भएको हो,’ उनले भने।

यहाँ पाइप बिछ्याउने काम दुई वर्षमा सकाउनुपर्ने सूचना अधिकारी श्रेष्ठले बताए। मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणमा याङ्ग्री र लार्के नदीको पानी ल्याउँदा अहिले भइरहेको पाइप पर्याप्त नहुने उनको भनाइ छ। सिन्धुपाल्चोकको हेलम्बू गाउँपालिकामा रहेको आयोजनास्थलमा विभिन्न संरचनामा थप क्षति नपुगोस् भनेर सरकारले अहिले वर्षाको समयमा मेलम्चीको पानी ल्याएको छैन।

सरकारले पछिल्लोपटक गत मंसिरबाट काठमाडौं उपत्यकामा पानी पुनः वितरण सुरू गरेको छ। वर्षा सुरू नहुँदासम्म पानी नियमित ल्याउन सकिने भए पनि वर्षाको समयमा नसकिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्