Ad imageAd image

स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा पनि सहकारी दिवस मनाइयो

मिलन विश्वकर्मा
मिलन विश्वकर्मा २० चैत्र २०७९, सोमबार
4 Min Read
Aa

पाल्पा, २० चैत । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको आयोजनामा ६६औं सहकारी दिवस विविध कार्यक्रम गरि सोमबार मनाइएको छ ।

´सहकारीको दीगोपना, स्वनियमन र सुशासन` भन्ने नारासहित दिवसको अवसरमा कालीगण्डकी गाउँपालिका र पालिकास्थित वित्तीय क्षेत्रमा आएका वर्तमान समस्या र सहकारीले अपनाउनु पर्ने सतर्कता विषयक अन्तरक्रिया तथा मैत्रीपुर्ण फुटबल खेल कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा सहभागी विभिन्न सहकारीका प्रमुख तथा प्रतिनिधिले संस्थाले गर्दै आएका गतिविधिका बारेमा जानकारी गराएका थिए ।

उनीहरू सबै सहकारीमा निक्षेप र कर्जामा एउटै व्याजदर लागू गर्नुपर्ने, अनुगमन गर्नुपर्ने बताएका थिए  ।

- Advertisement -
Ad image

भाखा नाघेको ॠण उठाउन, शेयर सदस्य थप गर्न समस्या रहेको बताएका थिए । स्थानीय सरकारले तालिम, आर्थिक अनुदान दिनुपर्ने,  अनुदानमा रासायनिक मलको व्यवस्था मिलाउनुपर्ने उनीहरूले बताए ।

कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष  सावित्रा कोइरालाले सबै सहकारी र पालिकाबीच सहकार्य गरेर अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो । सहकारीलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा गाउँपालिकाले विशेष योजना तथा कार्यक्रम तय गरेर अगाडि बढेको छ । ॠण बचतको कारोबार मात्र होइन ।  उत्पादनमूलक क्षेत्रमा लगानी गरेर व्यक्तिलाई स्वरोजगार बनाउने काममा लगानी गर्न सुझाव उहाँले दिनुभयो । सहकारीको बारेमा सचेत हुन आवश्यक छ । संस्था जवाफदेही भएर काम गर्नुपर्ने उहाँले बताउनुभयो । योजना बनाएर सहकारी अगाडि बढ्नुपर्छ । सहकारी वा कुनै पनि किसानले उत्पादन गरेका स्थानीय बस्तुलाई बजारीकरण गर्नका लागि गाउँपालिकाले सहयोग गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा  वडा नम्बर १ का वडाध्यक्ष कृष्ण लामिछानेले मुलुकको अर्थतन्त्रमा सहकारीले महत्त्वपूर्ण सहयोग गरिरहेको बताउनुभयो । सहकारी अभियान्ताले सहकारीको बारेमा अध्ययन गरेर स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभयो । यस्तै वडा नम्बर ७ का वडाध्यक्ष ओमप्रकाश भट्टराईले वित्तीय संस्थाले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले कालीगण्डकी गाउँपालिकाले सबै सहकारीलाई एकै ठाउँमा जुटाएर अनुभव आदानप्रदान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको बताउनुभयो । गाउँपालिकाले जारी गरेको सहकारी ऐन २०७४ अनुसार सहकारीसँग समन्वय र सहकार्य गर्ने बताउनुभयो । ऐनमा केही संशोधन गर्नुपर्ने अवस्था  भए सुझाव दिन आग्रह गर्नुभयो । सहकारी संस्था आफ्नै घर हो । नियमन गर्न आवश्यक छैन । मिलेर शेयरधनीको हितमा काम गर्न नसके स्थानीय सरकारले नियमन गर्ने छ । कागती निचोडेजस्तो नियमन गर्ने वातावरण नआओस् । पारदर्शी र जवाफदेही भएर काम गर्न सुझाव दिन्छु । गाउँपालिकाले कृषि कम्पनी स्थापना गर्ने तयारीमा छ । यहाँका कृषि व्यवसाय र उत्पादनलाई प्राथमिकता दिने उहाँले बताउनुभयो ।

गाउँपालिकाका सहकारी शाखा प्रमुख हिरामणी पाण्डेले संचालन गर्नुभएको कार्यक्रममा कन्चन बचत तथा ॠण सहकारी संस्थाका सचिव डोलराज पाण्डेले स्वागत गर्नुभएको थियो । कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेको अध्यक्षतामा चलेको थियो ।

यस गाउँपालिकाभित्र १७ वटा सहकारी संस्था छन् । ॠण तथा बचत, बहुउद्देश्यीय सहकारी र साना किसान सहकारी रहेका सहकारी शाखा प्रमुख हिरामणी पाण्डेले जानकारी दिनुभयो ।

यसैबीच सहकारीका सञ्चालक समितिका पदाधिकारी, कर्मचारी र गाउँपालिका कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । खेलमा गाउँपालिका कर्मचारीको टिम विजेता बनेको छ । १ का विरुद्ध ५ गोल अन्तरले विजेता बनेको हो ।

यसअघि र्‍याली निकालिएको थियो । सचेतनामूलक प्लेकार्ड बोकेर मिर्मी बजार परिक्रमा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्