Ad imageAd image

महिला स्वास्थ्य सुधारको पैरवी

खबर खुराक
खबर खुराक २४ चैत्र २०७९, शुक्रबार
5 Min Read
Aa

दुई वर्षअघि मेरो देउरानी आफ्नो बुहारीसँग खोकीको उपचार गर्न गाउँबाट विराटनगर आइन् चिसोले हो कि भनेर उनले केही महिना घरेलु उपचार गरिन् । यसले निको नभएपछि श्रीमान्लाई अस्पताल जान ढिपी गरिन् । श्रीमान्‌ले भने ‘आफैं निको हुन्छ’ भनेर टारिरहे ।

असह्य भएपछि बल्ल उनी विराटनगर आएकी थिइन् र जचाउँदा क्षयरोग देखियो । केही महिनाको उपचारपछि उनी निको भइन् । अहिले सामान्य जीवन बिताइरहेकी छन् । कैंयो महिला अझ गृहिणीहरू स्वाथ्योपचारका लागि घरपरिवार तथा श्रीमान्को भरपर्नुपर्ने अवस्था यद्यपि छ ।

सानोतिनो स्वास्थ्य समस्यामा पनि श्रीमान्को भरपर्दार् कहिलेकाहीँ महिलाहरूले अकालमै ज्यान गुमाउनुपरेको घटना सुनिन्छ । झन्डै दुई दशकअघि बुहारी पर्ने आफन्त स्तनमा घाउ देखिएपछि विराटनगर आइन् । प्रारम्भिक जाँचपछि स्तन क्यान्सरको शंका लागेर चिकित्सकले थप उपचारका लागि धरानस्थित बीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाए । नभन्दै क्यान्सर देखियो । र, केही सातामै मृत्यु भयो ।

त्यसो त के गाउँ, के सहर । के हुने खाने, के हुँदा खाने, अधिकांश महिला आफ्नो स्वास्थ्यको ख्याल गर्दैनन् । गाउँघरमा महिलाहरूको अधिकांश समय खेतीकिसानी र घरायसी काममा समय बित्ने गरेको छ । सहरी क्षेत्रका पढे–लेखेका महिलाहरू पनि स्वास्थ्यप्रति त्यति सचेत देखिँदैनन् । यसले गर्दा सामान्य रोग जटिल अवस्थामा पुग्ने गरेको छ ।

- Advertisement -
Ad image

कतिपय रोग घरेलु उपचार गर्दा पनि निको हुन्छ । हातखुट्टा दुख्दा सामान्य व्यायामले निको हुन सक्छ । यसबारे इन्टरनेटमा पनि प्रशस्त जानकारी मिल्छ । विडम्बना पछिल्लो समय सूचना प्रविधिमा सबैको सहज पहुँच भए पनि सचेतनाको कमीले अधिकांश महिलाको प्राथमिकतामा स्वास्थ्य सम्बन्धी सामग्री पर्दैनन् । यस्तै के साक्षर, के शिक्षित, के गृहिणी, के कामकाजी, अधिकांश महिला सामाजिक सञ्जालमा जोडिए पनि आफ्नै स्वास्थ्य समस्याको समाधान खोज्नेतिर चासो राख्दैनन् ।

कुनै रोगलाई जटिल अवस्थामा पुर्‍याउन व्यक्तिविशेषको जीवनशैली र खानपानले महत्त्वपूर्ण भूमिका खेल्छ । पछिल्लो समय कतिपय मानिस निरोगिताका लागि पनि नियमित व्यायाम लगायत प्रभातकालीन हिँडडुल गर्छन् । कतिपयले शाकाहारी जीवनशैली अपनाउन थालेका छन् ।

चिकित्सकको सल्लाह अनुसार खानपान नसुधार्ने तथा नियमित व्यायाम नगर्नेहरूमा महिलाहरू पनि पर्ने गरेका छन् । बहुसंख्यक महिलाहरू रक्तअल्पताजस्ता समस्याबाट पीडित हुने गरेको अध्ययनले देखाएको छ भने उनीहरूको रक्तचाप तलमाथि हुँदा अरू समस्या थपिने गरेको छ । वास्तवमा दैनिक खानपानमा सुधार तथा नियमित व्यायाम गर्दा पनि रक्तअल्पता र रक्तचापजस्तो समस्या समाधान हुने स्वास्थ्यविज्ञहरूले औंल्याउने गरेको धेरै भयो । सुरुआती चरणमै यस्ता समस्याका लक्षणलाई बिरामी स्वयं र घरपरिवारले बेवास्ता गर्दा, महिलाहरूको स्वास्थ्य अवस्था जटिल बन्ने गरेको छ ।

संघीय सरकारले नागरिकको स्वस्थ रहन पाउने मौलिक अधिकारको संवर्द्धन र संरक्षणका लागि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ । यस अन्तर्गत पाँच जनासम्म सदस्य हुने परिवारले वार्षिक तीन हजार पाँच सय रुपैयाँ तिर्नुपर्छ । सोभन्दा बढी सदस्य भए प्रतिसदस्य सात सय रुपैयाँ थप्नुपर्छ । सरकारले सूचीकृत गरेको अस्पतालमा उपचार गराउँदा परिवारले दुई लाख रुपैयाँसम्मको स्वास्थ्य खर्च पाउँछ । केही वर्षदेखि स्थानीय सरकारले पनि आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गर्दै आइरहेको छ । सामान्यतया पुरुषभन्दा पनि महिलामा देखिने रक्तअल्पता र रक्तचापको प्रारम्भिक जाँचका लागि यस्ता केन्द्र तथा औषधालय उपयुक्त देखिए पनि बहुसंख्यक हुने खाने घरका महिलाहरू रोग जटिल भएपछि मात्र निजी अस्पताल जाने गरेका छन् ।

सामान्यजस्तो देखिने कतिपय रोगका प्रारम्भिक उपचार यस्ता केन्द्र र औषधालयहरूमा गर्न सके धेरै हदसम्म घरपरिवार र श्रीमान्को भरपर्नु पर्दैन । विशेष गरी यस्ता केन्द्र र औषधालयले दिने सेवाबारे त्यति प्रचारप्रसार हुन सकेको छैन । यसले गर्दा अझै बहुसंख्यक नागरिक स्वास्थ्यप्रति सचेत देखिँदैनन् । यस्ता केन्द्र तथा औषधालयप्रति जनविश्वास बढाउने तथा स्वास्थ्य सम्बन्धी सचेतना जगाउने किसिमको कार्यक्रम गर्न स्थानीय सरकार चुकेका छन् ।

त्यसो त, सरकारजस्तै सञ्चारमाध्यमहरूले पनि स्वास्थ्य सम्बन्धी सामग्री प्रकाशन तथा प्रसारण गर्न कञ्जुस्याइँ गर्दै आएका छन् । कतिपय मूलधारका सञ्चारमाध्यमले बेलाबेला महिला स्वास्थ्यबारे छलफल कार्यक्रम सञ्चालन गर्दै आए पनि त्यो पर्याप्त छैन । महिलाहरूको स्वस्थ रहन पाउने अधिकारका लागि सञ्चारजगत्ले पनि पैरवीकर्ताको भूमिका निर्वाह गर्नु जरुरी छ । बेइजिङ घोषणापत्र र कार्ययोजनाले पनि महिला समानता र विकास लगायत महिला सशक्तीकरणका लागि नभई नहुने क्षेत्रहरू पहिल्याई सरकार, अन्तर्राष्ट्रिय समुदाय तथा नागरिक समाजलाई १२ वटा सरोकारका क्षेत्रमा रणनीतिक योजनाहरू तर्जुमा गरी अगाडि बढ्न आह्वान गरेको छ । ती क्षेत्रमा ‘महिला र स्वास्थ्य’ पनि पर्छ । महिला सशक्तीकरणका लागि अन्य क्षेत्रजस्तै महिला र स्वास्थ्य भन्ने विषयमा थप रणनीतिक योजना बनाई कार्यान्वयन गर्नू भनेर नेपाल सरकारलाई आह्वान गरेको वर्षौं बितिसक्दा पनि कार्यान्वयनको पक्ष फितलो छ ।

यस्तै स्थानीय सरकारले पनि बेइजिङ घोषणापत्रमा उल्लेख गरिएको ‘महिला र स्वास्थ्य’ सम्बन्धी बुँदालाई केन्द्रमा राखी स्वास्थ्य सचेतनाका लागि स्वयंसेविकाहरूलाई परिचालन गर्नु जरुरी छ । स्वास्थ्य संकट पर्दा तथा खोपको बेला मात्रै स्वयंसेविका परिचालन गर्नेर् सरकारले अबका दिनमा महिलाको स्वास्थ्य समस्या न्यूनीकरण र निराकरण गर्न स्वास्थ्य सचेतना सम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राख्नु जरुरी छ । यसका लागि घरदैलो कार्यक्रम नै गर्नु जरुरी छ । यस्तै सरकारले स्वास्थ्य स्वयंसेविकाहरूलाई पूर्णकालीन बनाई थप तालिम दिनु आवश्यक छ । त्यतिले मात्र पुग्दैन, तालिम प्राप्त स्वास्थ्य स्वयंसेविकाहरूलाई ‘स्वास्थ्य किट’ उपलब्ध गराई घरदैलो सेवामा पठाउन सके संघप्रतिको विश्वसनीयता मात्र बढ्दैन, दूरदराजका बिरामीहरूले पनि धेरै हदसम्म राहत पाउने देखिन्छ ।

इ कान्तिपुरबाट।।।

प्रतिक्रिया दिनुहोस्