Ad imageAd image

गण्डकी प्रदेशका खेलाडीले घोषित पुरस्कार पाएनन्

खबर खुराक
खबर खुराक २८ चैत्र २०७९, मंगलवार
3 Min Read
Aa

२८ चैत ,कास्की । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कप (यू–१९) महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका विजेतालाई नगदसहित सम्मान गर्ने गण्डकी प्रदेश सरकारको घोषणा एक वर्ष बितिसक्दा पनि कार्यान्वयन भएको छैन । खेलाडीहरूले सम्मानस्वरुप पाउने आर्थिक सहयोग सहयोग नपाएको गुनासो गरेका छन् । कृष्णचन्द्र नेपाली मुख्यमन्त्री रहँदा तत्कालीन अर्थमन्त्री रामजीप्रसाद बरालले उपाधि विजेता गण्डकी प्रदेशका खेलाडीलाई सम्मानसहित जनही ५० हजार रुपैयाँ दिने घोषणा गरेका थिए ।

टोलीको प्रशिक्षकमा रिजन प्रजु, सहायक प्रशिक्षक गोविन प्रधान र टिम व्यवस्थापकमा एलिसा लामिछाने थिए । १२ सदस्यमा १० खेलाडी स्याङ्जाका थिए भने बाँकी कास्की र नवलपुरका थिए । च्याम्पियन टोलीका १४ खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी १७ सदस्यीय टोलीलाई पुरस्कार दिने तत्कालीन अर्थमन्त्री बरालले घोषणा थिए । उनले प्रदेशको नाम उँचो राख्न खेलाडीले पुर्‍याएको योगदानको प्रशंसा गर्दै टोलीलाई आर्थिक सहयोग गर्न पुरस्कार घोषणा गरेको बताएका थिए । ‘खेलाडीको प्रोत्साहनस्वरुप केही न केही गर्नुपर्छ भनेर सहयोग दिने भनेका थियौं,’ उनले भने, ‘तत्कालीन सयममा खेलकुद मन्त्रालयले फाइल उठाउनुपर्ने तर फाइल नउठाइदिएका कारण सहयोग रोकिएको हो ।’ उनले सरकारी तबरबाट दिइने भनेको रकम ढिला नगरी दिनुपर्ने बताए ।

सफलता पाउँदा खेलाडीलाई सम्मान गर्दै हौसला र प्रोत्साहनका लागि घोषणा गरिएको पुरस्कारको एक वर्षसम्म पनि प्रक्रिया अगाडि नबढ्दा खेलाडी निरुत्साहित हुने जिल्ला क्रिकेट संघ स्याङ्जाका अध्यक्ष दिवाकर थापाले बताए । केही दिनअघि सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले ४ क्रिकेट खेलाडीलाई सम्मान गर्नेक्रममा गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्द्र प्रजुले घोषणा गरेको रकम अहिलेसम्म नपाएको बताए । ‘अर्थ मन्त्रालयले सम्मान गर्‍यो, फाइल खेलकुद मन्त्रालयले उठाउनुपर्ने दुई मन्त्रालयबीच तालमेल नमिल्दा सहयोग रकम नआएको रे,’ उनले भने, ‘सरकार फेरबदल भइरहँदा पनि दिन्छु भनेको रकम दिइएन ।’

तत्कालीन खेलकुद र अर्थ मन्त्रालयको नेतृत्व लिने मन्त्री फरक पार्टीका हुँदा आपसी द्वन्द्वका कारण खेलाडीलाई दिने भनेर घोषणा भएको पुरस्कार पाउन नसकेका हुन् । यसरी घोषणा गरिएको विषयलाई मन्त्रिपरिषद् बैठकबाट पारित गर्नुपर्ने भए पनि खेलकुद मन्त्रालयले फाइल नै अघि नबढाएको बराल बताउँछन् । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका खेलकुद महाशाखा प्रमुख घनश्याम पौडेलले उक्त पुरस्कारका लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पठाउने तयारी भएको बताए ।

- Advertisement -
Ad image
अघिल्लो सरकारले घोषणा गरेको पुरस्कार नपाएको भन्दै खेलाडी मन्त्रालय धाइरहेको बताउँदै वर्तमान अर्थमन्त्री सीताकुमारी सुन्दासले यस विषयमा प्रक्रिया अगाडि बढाइने बताइन् । सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङले खेलाडीमात्र नभई जोकोहीलाई पनि दिने भनिएको पुरस्कार बाँकी राख्न नहुने भन्दै तत्काल फाइल उठाउन खेलकुद महाशाखालाई निर्देशन दिएको बताए । ‘खेलाडी हाम्रा गहना हुन्,’ उनले भने, ‘हामीले खेलाडीलाई उत्साहित बनाउने र सहयोग गर्ने हो । आश्वासन बाँडेर निरुत्साहित गर्नुहुँदैन ।’

प्रतिक्रिया दिनुहोस्