५ वैशाख ,बार्सिलोना । विश्वका विभिन्न देशबाट आउने विदेशीहरूलाई नेपालप्रति आकर्षण बढाउन स्पेनको बार्सिलोना सहरस्थित मुख्य पर्यटकीय केन्द्रमा नेपालीहरूले विविध सांस्कृतिक कार्यक्रम गरेका छन् ।
युरोपकै प्रमुख पर्यटकीय आकर्षणमध्येको एक बार्सिलोना सहरस्थित साग्रा दा फामिलियालको अगाडि नेपालीहरूले आइतबार नेपालका विभिन्न जातजातिका वेशभूषा र संस्कृति झल्काउने कार्यक्रम गरेका हुन् ।
स्पेनको जनप्रगतिशिल मञ्चले पाँच वर्षदेखि बार्सिलोना नगरपालिकासित मिलेर गर्दै आएको यो कार्यक्रममा नेपालका मगर, तामाङ, गुरुङ, शेर्पालगायत विभिन्न जनजातिको पहिरनमा विविध सांस्कृतिक झाँकीहरु देखाएका थिए ।
मेलामा नेपालका पर्यटकीय आकर्षणका पोस्टर, बुकलेट र ‘नेपाल भ्रमण गरौं’ भन्ने टिसर्टसमेत वितरण गर्नुका साथै मोमो, सेल, अचारलगायत नेपाली परिकारको स्टलसमेत राखिएको थियो ।
साग्रा दा फामिलियालको अगाडि मूल सडक थुनेर आयोजना गरिएको कार्यक्रम हेर्न हजारौं पर्यटकको भीड लागेको थियो । विश्वका विभिन्न सहरबाट भ्रमणका लागि आएका करिब २० हजार पर्यटक र स्पेनीले यो कार्यक्रम अवलोकन गरेको नेपाली जनप्रगतिशील मञ्च स्पेनका अध्यक्ष विशाल ढुंगानाले कान्तिपुरलाई बताए ।
प्रतिक्रिया दिनुहोस्