२८ वैशाख, चितवन। चितवन राष्ट्रिय निकुञ्जमा दुई वटा गैँडा मृत अवस्थामा फेला परेका छन्। दुई दिनको अवधिमा फरक फरक स्थानमा मृत गैँडा फेला परेका हुन्।
वैशाख २६ गते तमोर ताल स्थित कसरा क्षेत्रमा चार महिनाको पोथी गैँडा र त्यसको भोलिपल्ट २७ गते सौराहा क्षेत्रको राप्ती नदी किनारमा साढे दुई वर्षको भाले गैँडा मृत भेटिएको निकुञ्जले जानकारी दिएको छ।
निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेका अनुसार, दुवै गैँडा प्राकृतिक कारणले मरेका हुन्। चार महिनाको पोथीको खाग समेत पलाएको थिएन। खुर भने सुरक्षित रहेको उनले जानकारी दिएका छन्।
भाले गैँडाको खाग र खुर सुरक्षित नै रहेको न्यौपानले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ। यससँगै चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्ष १८ वटा गैँडा मरेका छन्।
प्रतिक्रिया दिनुहोस्