११ जेठ, २०८०।
तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले पांच महिनादेखि तलब नपाएपछि आन्दोलित भएका छन् । नगरपालिकाभित्रका १७ वटा स्वास्थ्य संस्थामा कार्यरत ७८ जना स्वास्थ्यकर्मीले पुस महिनादेखिको तलब नपाएपछि आन्दोलनमा उत्रिएका हुन् ।
पाँच महिनासम्म तलब नपाउँदा घर खर्च चलाउन समस्या भएको भन्दै स्वास्थ्यकर्मीहरुले छिटो तलब पाउने व्यवस्थाका लागि नगरपालिकासंग आग्रह गरेका छन् । यहाँ ४५ जना दरबन्दी तथा समायोजन संशोधन, कामकाज र कोभिड काज गरी ३२ जना दरबन्दी बाहेकका कर्मचारी छन् ।
छिमेकी बुटवल उपमहानगरपालिका, देवदहलगायतका अन्य पालिकाले आन्तरिक स्रोतबाट स्वास्थ्यकर्मीलाई तलब दिइरहेको भन्दै पौडेलले तिलोत्तमामा भने कर्मचारीको समस्यामा गैरजिम्मेवार रवैया देखाएको गुनासो गरे । ‘स्वास्थ्यकर्मीहरुले ऋण खोजेर घर खर्च चलाउनुपरेको छ, कतिपय कर्मचारीका छोराछोरी विद्यालय भर्ना हुन सकेका छैनन्’, पौडेलले भने, ‘नगरपालिकाबाट ठोस पहल नभएपछि प्रधानमन्त्री, स्वास्थ्यमन्त्री र रूपन्देहीका प्रतिनिधि सभा सदस्यहरुलाई ज्ञापनपत्र बुझाएका छौं, अब पनि माग पूरा नभए स्वास्थ्य संस्थाको चाबी बुझाउनुको विकल्प छैन ।’
तलब नपाएको विरोधमा जेठ ८ देखि हातमा कालोपट्टी बाँधेर काम गरिरहेका स्वास्थ्यकर्मीहरुले १२ गतेदेखि नगरपालिका कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको संघर्ष समितिका सदस्य जनस्वास्थ्य निरीक्षक ठानेश्वर बस्यालले बताए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले दरबन्दी भन्दा बढी ३३ जना कर्मचारी कार्यरत हुँदा तलब दिन नसकिएको बताए । तर संघर्ष समितिले भने नगर कार्यपालिकाको निर्णय अनुसार स्थापना भएका १० वटा स्वास्थ्य संस्था र आधारभूत नगर अस्पतालमा आवश्यक कर्मचारीहरुको स्थायी दरबन्दी सिर्जना गरी कर्मचारीहरुको ब्यवस्थापन गर्न माग गरेको छ ।
स्वास्थ्यकर्मीहरुको पाँच महिनाको करिब ४ करोड रुपैयाँ तलब दिन बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताए । स्वास्थ्य मन्त्रालयले दरबन्दीबाहेकका कर्मचारीको तलब नपठाउँदा समस्या भएको उनले बताए । स्वास्थ्यकर्मीहरु भने आफूहरू स्थानीय तहमा समायोजन भएर आएकाले स्वास्थ्य मन्त्रालयसँग सरोकार नभएको बताउँछन् ।
‘यस्तो समस्या तिलोत्तमाको मात्र होइन देशभरका पालिकाका स्वास्थ्यकर्मीको समस्या हो’, अर्यालले भने, ‘नगरपालिकाबाट तलब भुक्तानीका लागि पहल नभएको होइन तर संघीय सरकारले नीतिगत निर्णय नगरेसम्म यहाँबाट तलब दिन सकिन्न देशभरका स्वास्थ्यकर्मीलाई २ अर्ब बजेट चाहिन्छ ।’
स्वास्थ्य शाखाका नेतृत्वको असक्षमताका कारण अन्य सूचकांकमा अगाडि रहेपनि स्वास्थ्यमा जिल्लाका १६ पालिकामा तिलोत्तमा १४ औं स्थानमा रहेको स्वास्थ्यकर्मीले बताए ।
प्रतिक्रिया दिनुहोस्