१२ जेठ,२०८०।
अस्पतालमा तोकिएको समय बिहान ९ देखि बेलुका ५ बजेसम्म हो । अस्पताल प्रशासनले बिहान एक घण्टा चाँडै आएको थप ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउँछ । शुक्रबार भने दुई घण्टा थप काम गर्नुपर्छ । यसरी हेर्दा महिनाको ३२ घण्टा थप काम गर्नेले जोखिम भत्ता पाउनेछन् ।
चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठान (वीर अस्पताल) ३३६ चिकित्सक कार्यरत छन् । त्यसमध्ये १५ प्रतिशत चिकित्सक मात्रै निर्धारित समयसम्म अस्पतालमा सेवा दिइरहेका हुन्छन् ।बाँकी ८५ प्रतिशत कर्मचारी बिहान ढिलो पुग्छन्, कि त बेलुका चाँडै निस्किन्छन् । अधिंकाश चिकित्सक ११ बजे अस्पताल पुग्छन् र २–३ बजे हिडिसकेका हुन्छन् । उक्त तथ्य अस्पतालको हाजिरीले पनि पुष्टि गरेको छ ।
अस्पतालमा तोकिएको समय बिहान ९ देखि बेलुका ५ बजेसम्म हो । अस्पताल प्रशासनले बिहान एक घण्टा चाँडै आएको थप ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउँछ । शुक्रबार भने दुई घण्टा थप काम गर्नुपर्छ । यसरी हेर्दा महिनाको ३२ घण्टा थप काम गर्नेले जोखिम भत्ता पाउनेछन् । अस्पतालमा बिरामीको चाप धेरैजसो बिहान साढे १० देखि १२ः३० बजेसम्म हुन्छ । त्यस्तै, दिँउसो साढे २ देखि साढे ३ बजेसम्म हुन्छ ।
अस्पताल प्रशासनका अनुसार तलबमा थप ५० प्रतिशत भत्ता सरकार अन्तर्गतका स्थायी कर्मचारी, न्याम्स अन्तर्गतका स्थायी र करारका कर्मचारीले पाउँछन् ।जसअन्तर्गत सरकारी दरबन्दीका १६८, काज र पुल दरबन्दीका ४६ र न्याम्सका ६५ जना चिकित्सकले जोखिम भत्ता लिइन्छन् । नर्सिङ र अनमीतर्फ सरकारी दरबन्दीका १७८, पुल र करारमा गरी २०, न्याम्सतर्फ १३० जनाले जोखिम भत्ता पाउँछन् ।त्यसैगरी, सरकारीतर्फ पारामेडिक्स र अन्य प्रशासनका कर्मचारी गरी १५१ र न्याम्स अन्तर्गतका ३१० जनाले जोखिमभत्ता लिइरहेका छन् ।
स्वास्थ्य सेवा गुणस्तरीय र बिरामीलाई सहज सेवा दिने उद्देश्यले कर्मचारीलाई प्रोत्साहनस्वरुप अतिरिक्त भत्ता दिने व्यवस्था गरेपनि त्यसअनुरुप प्रतिफल भने लिन नसकिएको अस्पतालका एक पूर्व निर्देशक बताउँछन् ।
‘मनलाग्दी खालको व्यवहार गर्नुहुन्छ । अस्पताल आउने–जाने टुंगो हुँदैन’ ती निर्देशक भन्छन्, ‘काम नै नगरी जोखिमभत्ता दिएको के अर्थ होला र !’
अस्पतालको तथ्यांक अनुसार सरकारीतर्फ ३ करोड १० लाख, न्याम्सतर्फ स्थायी र करारका कर्मचारीलाई २ करोड ४५ लाख रुपैयाँ जोखिम भत्तामा मासिक खर्च हुन्छ । यसरी हेर्दा, बार्षिक ६६ करोड ६० लाखभन्दा बढी अस्पताल प्रशासनले जोखिम भत्ता दिइरहेको छ ।
त्यतिमात्रै होइन, न्याम्स अन्तर्गतका प्राध्यापकलाई थप सय प्रतिशत भत्ताको पनि व्यवस्था छ । अस्पतालमा हाल ८३१ दरबन्दी थप भएको छ । यसरी हेर्दा जोखिम भत्ता मात्रै एक अर्बभन्दा बढी हुनजान्छ ।
वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेल बढी समय सेवा दिँदा भत्ता पाउनु उचित भएको बताउँछन् । तर बढी समय काम गर्ने र नगर्ने दुबै थरिले जोखिम भत्ता लिइरहेको भन्दै उनले यसलाई वैज्ञानिक बनाउने बताए । ‘अहिले काम गरेका र नगरेका पनि एउटै जोखिम भत्ता तोकिएको छ । यसलाई वैज्ञानिक बनाउनुपर्ने देखिन्छ’ उनले भने ।
उनका अनुसार रातिको समयमा काम गरेका नर्सलाई घन्टाको आधारमा, चिकित्सकलाई अस्पतालले तोकेको समयबाहेक अप्रेशन गरेको अवस्थामा र बिदा वा चाडपर्वको बेलामा पनि काम गरेमा प्रोत्साहन भत्ता दिन उचित हुन्छ । ‘कुन कर्मचारी कति समय अस्पताल बस्छ भनेर हामीले निगरानी गरिरहेका छौं । तर, अब जोखिमभत्ता पाउनका लागि कार्यसम्पादन मूल्याकंन पनि हेरिन्छ’, डा. पौडेलले भने ।
प्रतिक्रिया दिनुहोस्