डा:अरुणा उप्रेती च
जाँमा आलु खायो भन्यो भने असफल भयो भन्ने अर्थ लाग्छ। केही खान नपाए आलु खाएर बाँच्नुपरेको छ भन्दा खाद्य सुरक्षा छैन भन्ने बुझिन्छ। यस्ता शब्दहरूबाट आलुलाई अपहेलना गरेको देखिन्छ, हाम्रो समाजले। तर आलु एउटा उत्तम खाद्यपदार्थ हो र यसको उपयोगले खाद्य सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। यसमा रहेका पोषणहरूले कुपोषण हटाउन मद्दत गर्नसक्छ भन्ने तथ्य प्रायः लुकाइन्छ।
आलुमा चामलको जस्तै माड हुन्छ। साथै प्रोटिन, विभिन्न प्रकारका खनिज पनि पर्याप्त पाइन्छन्। उसिनेर बोक्रा हटाएको १०० ग्राम आलुमा (३ वटा मध्यम आकारका आलु) कार्बोहाइड्रेट २०.१३ ग्राम, प्रोटिन १.८ ग्राम, क्याल्सियम ५ मि.ग्राम साथै ७७ ग्रामजति पानी पाइन्छ। अन्य सूक्ष्म पोषक जस्तो) फस्फोरस, भिटामिन सी, लौहतत्त्व पनि पाइन्छ। आलु आफैमा कम चिल्लो हुने हुनाले यसले शरीरको तौल सन्तुलित राख्न पनि मद्दत गर्छ। तर आलुको यो पौष्टिकतालाई कतै पनि विज्ञापन गरिंदैन।
तर अर्कोतिर ‘अंकल चिप्स’, ‘फ्रे फ्राई’जस्ता पोषणरहित, क्यालोरीमात्र हुने महँगो प्याकेटका खानाचाहिँ धेरैले खान्छन्। अनि तिनीहरूचाहिँ कुपोषणको सिकार बन्छन्।
नेपालका विभिन्न भागमा आलु उत्पादन भए पनि त्यसलाई प्रयोग गर्न नजानेर वा महत्त्व नबुझेर ‘आलु खाएर दुःखपूर्ण अवस्थामा बाँच्नु’ परेको समाचार आउँछ। आलुमा विभिन्न तरकारी, दाल जेमा पनि मिसाएर खान सकिन्छ। बालबालिकालाई कुपोषणबाट बचाउन पनि उनीहरूको अन्नप्रासनपछि आलु उसिनेर बेस्सरी मिचेर दिनमा २/३ चोटि ख्वाउँदा बच्चाको पोषण राम्रो हुन्छ।
प्रायले आलु खाए तौल बढ्ने विचारले मात्र खान छाड्छन्। तर आलु यदि बेस्सरी चिल्लो र मसला हालेर खाइयो भने वा तारेको आलु खाइयो भनेचाहिँ तौल बढ्छ। नत्र आलु राम्रो पौष्टिक भोजन हो।
कर्णालीमा आलु पर्याप्त मात्रामा पाइन्छ। तर पनि लगातार खाद्य सुरक्षा छैन भनेर समाचार आइरहन्छ। युरोपका धेरै देशमा आलु नै कार्बोहाइड्रेटको प्रमुख स्रोत भनेर विभिन्न तरिकाले आलु पकाएर, बफाएर, उसिनेर स्मास्ड (अर्थात् ढिँडो) जस्तो बनाएर खाइन्छ। तर ती ठाउँमा खाद्य असुरक्षा भएको खबर आउँदैन।


प्रकृतिले दिएको अति राम्रो उपहार हो – आलस ( FLAX SEED)
मधेसतिर यसलाई ‘अल्सी’ भनिन्छ। नेपालमा प्रायः यसको महत्त्व त्यति थाहा छैन। यदि आलसको पोषण तत्त्व र औषधि गुणबारे छलफल गर्ने हो भने सायद हामीमध्ये कमैलाई विश्वास लाग्छ कि हाम्रो हातमा यस्तो महत्त्वपूर्ण बिरुवा छ। आलसमा पाइने एउटा महत्त्वपूर्ण तत्त्व ओमेगा प्याट्टी एसिड हो, जुन माछामा पाइन्छ र महँगो पैसा तिरेर खाइन्छ। तर सस्तोमा नै त्यो एसिड आलसमा पाइन्छ भन्ने हामीलाई थाहा छैन। आलसको अर्को विशेषता भनेको यसमा भिटामिन बी पर्याप्त मात्रामा हुन्छ। त्यसैगरी सूक्ष्म पौष्टिक तत्त्व म्याग्नेसियम पनि पर्याप्त हुन्छ। १०० ग्राम आलसमा प्रोटिन १८ प्रतिशत हुन्छ। २७.३ ग्राम रेशादार पदार्थ पाइन्छ।
रेशादार पदार्थले कव्जियत हटाउन, मोटोपन घटाउन र उच्च रक्तचाप कम गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। क्याल्सियम, जिन्क, म्याग्नेसियम आदिले गर्दा यो पोषणले युक्त हुन्छ।
महिला स्वास्थ्यका लागि आलसको सकारात्मक परिणाम देखिएका छन्। दिनमा २/३ चम्चा आलसको प्रयोग सबै महिलाका लागि उपयोगी हुन्छ। तर जहिले पनि एउटै तरिकाले खाइरहनु पर्दैन। अचार बनाएर, कुनै खानेकुरामा मिसाएर, रोटी पकाउँदा, सुपमा मिसाएर अनेक तरिकाले खान सकिन्छ। समग्रमा प्रकृतिको एउटा अति उत्तम वनस्पति आलसले हाम्रो शरीरमा धेरै सकारात्मक भूमिका खेल्न सक्छ।
यो पोषण पनि हो, औषधि पनि हो र स्वादिलो पनि हुन्छ। तस तर नजिकको तीर्थ हेला हुने ठाउँमा कसले आलु, आलसको वास्ता गर्ला र?
डा:अरुणा उप्रेती को फेसबुक वालबाट ।
प्रतिक्रिया दिनुहोस्