१४ जेठ, २०८० ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी विषयमा फेरि सर्वोच्च अदालतमा मुद्दा परेको छ। अधिवक्ता युवराज सफलले दिएको मुद्दा सर्वोच्चले बुधबार दर्ता गरेको छ। याँ नागरिकता लिएपछि लामिछाने वैशाख १० गते भएको उपनिर्वाचनमा चितवन-२ बाट फेरि प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्।
आफ्नो नागरिकतासम्बन्धी फेरि मुद्दा दर्ता भएपछि लामिछानेले इरिटेड गर्नुको पनि सीमा हुने बताएका छन्। बिहीबार बिहान फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्- मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन्। मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ। यस्तै, भरतपुरमा पार्टीले गरेको पत्रकार सम्मेलनमा लामिछानेले अमेरिकी राहदानी त्याग गरेको विषयमा आवश्यक कागजपत्र अदालतमा बुझाइसकेको बताएका छन्। उनले यस विषयमा आफ्ना शुभेच्छुकहरूलाई जानकारी गराएको बताए। ‘यस विषयमा म धेरै अलमलिन्नँ, आफ्नो काम गरिसकें,’ उनले भने।
यसअघि गत माघ १३ गते अमेरिकी नागरिकता लिएपछि प्रक्रिया नपुर्याएर पुन: नेपाली नागरिकता नलिएको भन्दै लामिछानेको सांसद पद सर्वोच्चले खारेज गरिदिएको थियो। त्यतिबेला उनी गृहमन्त्रीसमेत थिए। अदालतको फैसलासँगै उनको गृहमन्त्री पद पनि गुमेको थियो। त्यसपछि लामिछाने जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता लिएका थिए। अधिवक्ता सफलले लामिछानेले पुन:नागरिकता लिँदा प्रक्रिया नपुर्याई लिएको भन्दै मुद्दा हालेका हुन्।
लामिछानेले अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा आफूसँग भएकाले जेठ ९ गते सर्वोच्च अदालतमा बुझाइसकेको बताएका छन्। यसअघि बुधबारको संसद बैठकमा पनि लामिछानेको नागरिकताका विषयमा कुरा उठेको थियो। कांग्रेस सांसद अजयकुमार चौरसियाले रोष्ट्रमबाट नागरिकता त्यागेको निस्सा नबुझाएको कुरा उठाएपछि लामिछानेले नियमापत्ति गरेका थिए।
प्रतिक्रिया दिनुहोस्