१५ ,जेठ। देशका अन्य जिल्लामा जस्तै प्यूठानका सामुदायिक विद्यालयले पनि विद्यार्थी अभाव झेलिरहेका छन् । बर्सेनि विद्यार्थी सङ्ख्या घट्दै जाँदा प्यूठानमा केही विद्यालयहरूको तह कटौती गर्नु परेको छ भने केही विद्यालय त बन्द नै भएका छन् ।
नयाँ शैक्षिक सत्र सुरु भइसकेको छ । अधिकांश विद्यालयले भर्ना अभियान सकेर पठनपाठन पनि सुरु गरिसकेका छन् । तर प्यूठानको प्यूठान नगरपालिका-४, थापाडाँडाको सरस्वती प्राथमिक विद्यालयमा भने अहिलेसम्म एकजना विद्यार्थी पनि भर्ना हुन आएका छैनन् । २०१२ सालमा स्थापित यो विद्यालयमा गत वर्षसम्म कक्षा ५ सम्म पढाइ हुन्थ्यो । यसै शैक्षिक सत्रदेखि तीन कक्षामा झारिए पनि विद्यार्थी सङ्ख्या शून्य छ ।
सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद थपलिया विद्यालय पढ्न आउने विद्यार्थी नहुँदा अफ्ठ्यारोमा परेको गुनासो गर्छन् । उनले भने, शिशु जन्मदर कम, अभिभावकको पनि निजी विद्यालयमा मात्रै जोड । जसले गर्दा हामी चाहिँ साह्रै अफ्ठ्यारोमा परियो ।प्यूठान नगरपालिका-३ को बालमन्दिर प्राथमिक विद्यालयलाई पनि विद्यार्थी अभावकै कारण नगरपालिकाले ३ कक्षामा झारेको छ । यो विद्यालयमा शिशुदेखि ३ कक्षासम्म १५ जना विद्यार्थी पनि छैनन् । अघिल्लो शैक्षिक सत्रमा ४६ जना विद्यार्थी रहेकोमा अहिले सङ्ख्या उल्लेख्य घटेको हो ।
विद्यार्थी ल्याउन घर-घर गएको तर पनि सफल नभएको भनाइ छ । ३ कक्षाभन्दा माथि पढ्ने दाजु, दिदी अर्कै विद्यालय जाने हुँदा मसिना भाइ, बहिनी उतै जाँदा यो विद्यालयले विद्यार्थी नपाएको हाे ।
प्रतिक्रिया दिनुहोस्