१६ जेठ ।
नेपालको संविधानको धारा ११(६) मा “नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा संघीय कानूनबमोजिम नेपालको अंगीकृत नागरिकता लिन सक्नेछ,” भन्ने व्यवस्था गरेको छ । राज्य व्यवस्था समितिमा रहेका सत्तापक्षीय केही माननीयहरुले विवाह भएको ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्था राख्ने प्रस्ताव गर्नुभएको छ । संविधानले समयावधि नतोकेको विषयमा समयावधि तोकेर कानुन बनाउन मिल्छ त ? संवैधानिक सर्वोच्चता भएको हाम्रो देशमा संविधानीक दायराभन्दा फरक कानून बनाउन मिल्छ ?
नेपाली वंशजलाई जन्म दिने आमालाई सात बर्ष सम्म नेपाली हुन कुराउने ? विवाह भएको एक दुई बर्षमै बच्चा जन्मयो भने नेपाली बाबु र विदेशी आमाबाट जन्मिने वच्चा फेरी वंशज नै हुने । हैन, यस्तो गोलचक्कर किन? अहिले सम्म जे चलिरहेको छ त्यही ठीक छ । अहिले कायम रहेको प्रावधानलाई नै निरन्तरता दिउँ ।
हुन त मैले यो तर्क गर्दा नेपाली राष्ट्रियता कमजोर गर्न खोजेको वा भारतीय नागरिकलाई नेपाली बनाउन खोजेको एकथरीले मिथ्यायुक्त आरोप लगाउला । तर, केही छैन । ती आरोप खेप्न म तयार छु । समताको जगमा उभिएको नेपाली राष्ट्रियताको परिकल्पना मैले गरेको छु ।
मधेशको प्राय हरेक घरमा एक सदस्य आमाका रुपमा वा पत्नीका रुपमा सीमा पारिका छन् । यो बिषय कुनै नेपाल भारतको राजनैतिक सीमा वारि वा पारिको बिषय पनि होइन । यो साँस्कृतिक सिमाको बिषय हो, यो सयौं वर्षदेखि चल्दै आएको कुरा हो । यो सामाजिक र सांस्कृतिक सम्बन्ध नेपाल र भारत राज्य बन्नुभन्दा पनि अगाडिदेखि चल्दै आएको हो भन्दा पनि अत्युक्ति नहोला ।
भगवान रामको विवाह जानकी मातासँग भएको प्रसंगले नै यो कुरालाई पुष्टि गर्दछ । तिरहुत राज्यको अस्तित्व १३५३ देखि १९६२ सम्मको इतिहास छ । महिनाथ ठाकुरदेखि कमलेश्वर सिंहको तिरहुत राज्यको सीमापछि नेपाल भारत भनी बाँडिएको हो । अंग्रेजले १८१६ मा गरेको सुगौली सन्धिमा सीमाञ्चलका जनतासँग कुनै विभेद नगरिने प्रावधान राखिएको हो ।
प्रस्ताव गरिएको वैवाहिक अंगीकृत नागरीताको यो प्रावधानले साँस्कृतिक अधिकारको उल्लंघन हुने छ छ जुन सुगौली सन्धिको समेत विपरीत हुने छ । कुनै गैरनेपालीले नागरिकता पाउनुपर्दछ भन्न भन्ने मेरो आश्य पक्कै होइन । तर शदियौं देखि कायम रहेको हाम्रो साँस्कृति समबन्धमाथि प्रहार नहोस् । बरु नागरिकता दिने प्रशासनिक संयन्त्रलाई दरिलो वनाऊँ ता कि नागरिकता दिने कुरामा कुनैखालको चलखेल हुन नपाओस् र फर्जी नागरिकता बाँड्ने काम नहोस् ।
फेरि यो मधेसको कुरा मात्र होइन, बैतडी, दार्चुला लगायतका सुदुरपश्चिमका पहाडी जिल्लादेखि पूर्वका इलाम र झापा लगायतका जिल्लाहरुको साझा समस्या हो । दार्चुलाका खसको उत्तरखाण्डमा र इलामका जनजाति लिम्वुहरुको सिलीगढीमा बिहेबारी हुन्छ । भारतको राज्यस्थानमा जन्मेकी पूर्वयुवराज्ञी हिमानी साहले टिकटकमा गाएको ‘यो मन त मेरो नेपाली हो’ खुब मन पर्यो । तर, के हिमानीलाई विवाह भएको सात बर्षसम्म नेपाली नागरिकताका लागि कुराएको भए न्याय हुन्थ्यो यो त ?
पशुपति शमसेरकी श्रीमती रानी उषा राजे सिन्धिया गवालियरका अन्तिम राजा जीवाजीरवा सिन्धियाकी छोरी हुन् । राजा साहेवकी छोरीलाई नेपालमा विवाह गरेर ल्याएपछि सात बर्ष कुराउनु अपमान होइन ? यसकारण पितृसतात्मक जडसूत्रवादी सोच र उर्लिँदो राष्ट्रियताको आवेगमा आएर यस्तो कानून नबनाउँ, जसले हामीलाई सदैव पछुताउनुपर्ने बनाओस् ।
प्रतिक्रिया दिनुहोस्