पाल्पा, ३१ जेठ । बगनासकाली गाउँपालिकाको आयोजनामा न्यायीक समितिलाई गुनासो निवारण संयन्त्रमा क्षमता विकास सम्बन्धि गोष्ठी बुधबार सम्पन्न भएको छ ।
समृद्धिका लागि वन परियोजना अन्तर्गत न्यायीक समिति सदस्य, कार्यपालिका सदस्य, मेलमिलापकर्ता र कर्मचारीलाई वन ऐन र अन्य मुद्दामा कसरी मेलमिलाप गराउने, कानुनी प्रक्रिया लगायतका बारेमा सहजीकरण गरिएको थियो ।
गोष्ठीमा जिल्ला अदालत पाल्पाका न्यायाधीश कमलराज विष्ट, सहन्यायाधिवक्ता लोकमणी पाण्डे, श्रेस्तेदार दुर्गा बस्यालले सहजीकरण गर्नुभएको थियो ।
गाउँपालिका भित्रका वनलाई व्यवस्थापन गरेर आन्तरिक स्रोत बढाउन र यहाँका नागरिकलाई स्वरोजगारमा बनाउने गरी कार्यक्रम संचालन हुने गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो ।
सामुदायिक वनबाट यहाँका नागरिकलाई आर्थिक उपार्जनमा जोड्ने गरी परियोजना संचालन हुने न्यायीक समिति संयोजक तथा गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले बताउनुभयो । वन ऐनबारे जानकारी नहुँदा कतिपय सर्वसाधारण जेल जानुपर्ने अवस्था रहेकोले यसलाई न्यूनीकरण गर्न यो गोष्ठी आयोजना गरेको उहाँले बताउनुभयो ।
कानुनी सचेतनाले हरेक कार्यक्रम प्रभावकारी हुने भएकोले चरणवद्ध रूपमा यस्ता खालका कार्यक्रम संचालन गरेको प्रवक्ता टीकाबहादुर थापाले बताए ।
एकदिने गोष्ठीमा करिब ५० जनाको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्