Ad imageAd image

पूर्वगृहमन्त्री एवं कांग्रेस नेता खाँण दोषी होइनन् भन्न नसकिने भन्दै थुनामा पठाउने आदेश

खबर खुराक
खबर खुराक ५ असार २०८०, मंगलवार
2 Min Read
Aa

५ असार ।

पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण नक्कली शरणार्थी प्रकरणमा अहिले पुर्पक्षका लागि थुनामा छन् ।केन्द्रीय कारागार, सुन्धाराको एउटा कोठामा खाँणसहित ६ जना बन्दी छन् । सोही कोठामा पूर्वऊर्जामन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी पनि छन् । जिल्ला अदालत, काठमाडौंले १ असारमा खाँण, रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अदालतको आदेश कार्यान्वयनका क्रममा जिल्ला प्रहरी परिसर, काठमाडौंले उनीहरुलाई केन्द्रीय कारागार लगेको थियो ।

कारागारमा बसेपछि प्रशासनका अधिकारीहरुले उनीहरुसँग कुराकानी समेत गरेका थिए । स्रोतका अनुसार शरणार्थी प्रकरणका कतिपय बन्दीहरुले डिल्लीबजार कारागार सरुवा हुन चाहेका छन् ।केन्द्रीय कारागारको तुलनामा थोरै कैदीबन्दी हुने र भेटघाटका लागि पनि सहज वातावरण हुने भएकाले धेरैको रोजाइमा डिल्लीबजार कारागार पर्छ । त्यसैले अधिकारीहरुले खाँणलाई पनि डिल्लीबजार जान चाहे/नचाहेको बारे सोधेका थिए ।

जवाफमा उनले केन्द्रीय कारागार नै ठिक भएको बताएका थिए । ‘म धार्मिक स्वभावको मान्छे पनि हुँ, के गर्नु यस्तै लेख्या रैछ ! जता बसेपनि जेल जेलै हो’, खाँणको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘कारागार अहिले पहिलेको जस्तो रहेनछ ।’

- Advertisement -
Ad image

विद्यार्थी आन्दोलनका क्रममा २०३६ सालमा पनि आफू जेल बसेको स्मरण गर्दै खाँणले जेल आफूले पहिले सोचे जस्तो नभएको बताए । ‘यहाँ त आन्तरिक प्रशासनका मान्छे पनि एकदम सहयोगी रहेछन्, सबै मिलनसार’, खाँणको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । प्रहरीले खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई २७ वैशाखमा मैजुबहालस्थित निवासबाट पक्राउ गरेको थियो ।

२९ असार २०७८ देखि १३ माघ २०७९ सम्म गृहमन्त्री भएका बेला नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै असुली गर्ने गिरोहलाई सहयोग हुने गरी काम गरेको आरोप खाँणमाथि छ ।

गिरोहको प्रलोभनमा परेर खाँणले पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनलाई पुनरावलोकन गर्न अर्को उपसमिति बनाएको आरोप छ । तर, समितिका अधिकारीहरुले पनि काम गर्न नमानेपछि तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले मन्त्रालयमा भएको पन्थी कार्यदलको प्रतिवेदन नै कीर्ते गरेको भेटिएको थियो ।

बयानका क्रममा खाँणले घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका थिए । उनले देशी–विदेशी शक्तिले आफूलाई फसाएको दाबी गर्दै आएका थिए । तर, अदालतले तत्काल उपलब्ध प्रमाणहरुबाट उनी दोषी होइनन् भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्