जन्मनका लागि कोही कसैले गर्भ रोज्न सम्भव छैन । भनिन्छ, ‘सतिले सरापेको देशमा केही गरौं भन्ने मान्छे उँभो लाग्दैन ।’ कर्नालीमा पनि यस्तै उखानहरू छन्— कर्नालीमा जन्मेकाले केही हुनेवाला छैन, ‘यही मतिले यही गतिले जाउला तांकलाखार ।’ उखानहरू मनोविज्ञान जाँच्ने सूचक हुन् ।
२०५३ सालमा म काठमाडौंको बानेश्वर क्याम्पसमा आईए पढ्न भर्ना भएँ । साथीहरूसँग परिचय हुन थाल्यो । अधिकांशले ‘हुम्लामा भात खान पाइन्छ कि पाइँदैन’ भनी सोध्थे । भातप्रति धेरैको चासो भेटिन्थ्यो । त्यसै समयमा सुदूरपश्चिम डोटीकै एक साथीले पाखे भन्छन् भनेर वास्तविक ठेगाना नभन्न मलाई सुझाव दिएका थिए । तर, मैले त्यसो गरिनँ ।
युवाकालमा पत्रकारितामा आबद्ध हुनुको नाताले पूरै देश घुम्ने अवसर पाइयो । पूर्व मेचीदेखि पश्चिम महाकालीपारिको दोधरा चाँदनीसम्म पुगेर मैले रिपोर्टिङ गरें । २०६२ को वर्षा याममा पूर्व भोजपुरको युँबाट पश्चिम हुम्लाको रादेउसम्म छापामार लोकमार्ग पैदलै हिँडें । यो यात्राबाट देश र जनता चिन्ने मौका मिल्यो । यस क्रममा धेरै भुइँमान्छेका सपनाहरू टिपोट गर्न सकियो ।
एक दिन एफएम रेडियोको मिटर बटार्दै जाँदा पूर्वसभामुख सुवास नेम्बाङको अन्तर्वार्ता आइरहेको रहेछ । सन्दर्भवश उहाँले ‘इलामको मेरो निर्वाचन क्षेत्र कर्नालीजस्तै छ’ भन्नुभयो । उहाँ इलामको कर्नालीमा विकास गर्न आफू लागिपरेको दलिल पेस गर्दै हुनुहुन्थ्यो । इलाम आठ ‘अ’ ले प्रख्यात छ— अलैंची, अदुवा, अर्थोडक्स चिया, अकबरे खुर्सानी, ओलन, अम्रिसो, आलु र आतिथ्यले । पूर्वसभामुखले आफ्नो निर्वाचन क्षेत्रलाई कर्नालीको उपमा दिँदै गर्दा वास्तविक कर्नालीले कस्तो अनुभव गर्दो हो ?
२०५८ सालमा पर्वत जिल्लाको कुस्मा बजारबाट फलेबासतिर झर्दै गर्दा विद्यार्थी नेता कञ्चन खनालले ‘चितवनको चुरे क्षेत्र चितवनको कर्नाली हो’ भन्नुभयो । पहिले ७५ जिल्ला मात्र हुँदा धेरैले चितवनलाई ७६ औं जिल्ला भन्ने गर्थे भने अहिले ७८ औं जिल्ला भन्ने गर्छन् । संयोगले त्यसै वर्षको कात्तिकमा मलाई चितवनका चेपाङ बस्तीहरूमा पुगी रिपोर्टिङ गर्ने मौका मिल्यो । पछि पनि गएँ । चितवनको कर्नाली देखियो । केन्द्र भागको भाव पनि बुझियो ।
देशको संघीय राजधानी काठमाडौंको नाङ्लाभारे, काभ्रेको कोशीपारि तथा मकवानपुरको महाभारत क्षेत्रलाई समेत स्थानीय बासिन्दाले ‘कर्नाली’ उपमा नै दिने गरेका छन् । जहाँ जाँदा पनि सुरुमा परिचय गर्नैपर्यो, परिचय गर्दा आफू जन्मेको भूक्षेत्र चिनाउनैपर्यो । जब मैले कर्नालीको हुम्ला भन्ने गर्छु, श्रोताको अनुहारको भाव अर्कै हुने गरेको पाइरहेकै छु । यस्तो भाव कर्नाली प्रदेशभित्रै पनि देखिने गरेको छ ।
उल्लिखित तथ्य एउटा मनोविज्ञान मात्र हो । अनेक दुर्गम ठाउँलाई कर्नालीको उपमा दिनेहरूले खास कर्नाली चिन्न सकेका छैनन् । हामीले पनि कर्नालीलाई चिनाउन सकेका छैनौं । हामी कर्नालीवासी दुःखका गीत मात्र गाइरहेका छौं । हुन त बैरागिनुपरेकै छ । यसका ऐतिहासिक कारणहरू छन् । समृद्ध इतिहास नामेट पार्दाको पीडा अवचेतन मनमा गाडिएकै छ । तर हामीले विगतबाट सिक्ने हो । वर्तमानमा जिउने हो र भविष्यका लागि मार्ग प्रशस्त गर्ने हो ।
यो देश निर्माणमा कर्नाली कहिल्यै चुकेको छैन । कर्नालीका धामीहरूका अनुसार, पौराणिक कालमा हिमालय क्षेत्रमा देवभूमि स्थापित गर्न कर्नालीका तेत्तीस कोटि देवताहरू लडेकै हुन् । नेपाल विस्तार कालमा महाकालीपारिको काँगडासम्म सीमा पुर्याउन कर्नालीका लोकस्वास्नी पैकेलाकै रूपमा लडेकै हुन् । यही स्थिति माओवादी जनयुद्धकालमा पनि रह्यो । जनयुद्धमा कर्नाली प्रदेशबाट व्यापक सहभागिता थियो । देशको जुन भागमा रगत बगे पनि कर्नालीको मान्छे परेको सुनिन्थ्यो ।
जनयुद्धको जगमा जनआन्दोलन भयो । जनआन्दोलनले स्थापित गरेको अन्तरिम सरकारले संविधानसभाको निर्वाचन गरायो । संविधानसभाले जनताको अधिकार संविधानमा अभिव्यक्त गरायो । वर्ग र सत्ता स्वार्थका कारण पहिलो संविधानसभाले संविधान जारी गर्न सकेन । दोस्रो संविधानसभाको निर्वाचन भयो । यति बेला पनि केन्द्रीय नेताहरूले कर्नाली बिर्सिने नै अवस्था आयो । कर्नाली प्रदेशका सचेत नागरिकहरूले डोटी गौंडा कुर्न नजाने संकल्प गरेकै हुन् । बाबुबाजेको सुन्दै आइएकै छ— ‘जाउला डोटी, हौला धोती न टोपी ।’
यो पृष्ठभूमिमा खास कर्नालीवासीले चाहेको संघीयता स्वयं कर्नालीवासीका लागि आउने देखिएन । यसैले विशेष कर्नाली प्रदेशको माग गर्दै आन्दोलन भयो । चार वीरको रगत बगेपछि खस देश विभाजित हुँदा भाइ र ज्वाइँ भाग लागेर छुट्टिएका भूक्षेत्र मिलाएर कर्नाली प्रदेश बन्यो । यस प्रदेशको नाम राख्ने सन्दर्भमा कसैको विमति भएन । प्राथमिकता पनि एक मतले पास भयो । यहाँको रोग, भोक तथा गरिबी मात्र विपक्षी बनेको छ ।
यति हुँदाहुँदै पनि कर्नाली पछि पर्ने कारण यो वा त्यो रूपमा देखा परिरहेकै छ । संघ र प्रदेश, प्रदेश र स्थानीय तहबीच काफी अविश्वास छ । विकास कार्यक्रम छनोट र कार्यान्वयनका लागि भएका गलत अभ्यासका कारण यस खाले अन्तरविरोध देखा परेको हो, जसको हल संघले अन्तरप्रदेश परिषद् र प्रदेशले प्रदेश समन्वय परिषद्बाट खोज्नुपर्छ । संविधानले परिकल्पना गरे अनुसार तीनै तहको सहअस्तित्व कायम गर्दै समन्वय र सहकार्य गर्नुपर्छ । जिल्ला समन्वयले सुशासनका लागि प्रभावकारी अनुगमन र मूल्यांकन गर्न सक्नुपर्छ ।
मानव विकास प्रतिवेदन–२०२० अनुसार सामाजिक–आर्थिक सूचकांकमा नेपालका अरू प्रदेशभन्दा कर्नालीको अवस्था कमजोर छ । कर्नालीको प्रतिव्यक्ति आय ९६४ अमेरिकी डलर छ । साक्षरता ६२.७७ प्रतिशत छ । औसत आयु ६७ वर्ष छ । यो न्यूनतालाई हल गर्न कर्नालीलाई नजिकबाट चिन्न सक्नुपर्छ ।
प्रदेश सरकार बन्नुअघि ३६ पालिकामा सडक पुगेको थियो । प्रदेश सरकारले कर्नालीमा पालिका केन्द्रसम्म सडक पुर्याउने नीति लिएपछि अहिले ७६ पालिका केन्द्रमा सडक पुगेको छ । मुगु एक र डोल्पाका दुई पालिका केन्द्रमा सडक पुग्न बाँकी छ । अब यसलाई स्तरोन्नतितिर लानुपर्छ । यहाँ असम्भव भन्ने केही छैन । तर केही गरौं भनेर पहुँचवालाहरूबीच पुग्दा ‘भोको भन्छ डाँडावारि खाऊँ, अघाएको भन्छ डाँडापारि खाऊँ’ भनेझैं हुन्छ ।
अचेल विकासमा पनि विकृति छाएको छ । सरकार अनुगमन गरेर बोल्दैन । विकास किनेर ल्याएको भनी उपभोक्ता ठग्ने गाउँका हाँडीघोप्टेहरूको कहानी सुन्दा दिक्क लाग्छ । अख्तियारका चलनहरू पारदर्शी छैनन् । अहिले कर्नालीका आमजनले दिउँसोको सूर्य र रातका जून–ताराजस्तै सबैका गतिविधि हेरिरहेका छन् ।
हामीले चाहेको विकास र खोजेको पहुँच हो । त्यो विकास र पहुँच पाउन शक्तिकेन्द्रको नजिक हुनुपर्ने वा सहर, बजार तथा विदेशबाट डिग्री लिएकै चाहिने पद्धति छ । कुनै पनि ठाउँमा कर्नालीको नागरिकलाई कमजोर सूचकमा मापन गरिन्छ । नेपालगन्जबाट हुम्ला, मुगु र डोल्पा जाँदा मान्छे भएर होइन, १०० केजीको सामान भएर उड्नु परेजस्तै । कर्नालीको विकटतालाई निकट बनाउन अझै सकिएको छैन । यो राज्यको प्राथमिकतामा भर पर्ने विषय हो ।
कर्नालीले चाकडी गर्दैन वा गर्न जान्दैन । उसलाई चाहिएको विकास हो, पहुँच हो । यसका लागि कर्नालीले देश र जनतालाई केन्द्रमा राखेर योगदान गर्नुपर्छ भन्ने मात्र बुझेको छ । कर्नालीलाई यथास्थितिमा छोडेर नेपाल अति कम विकसित देशबाट विकासशील देशमा जान सम्भव छैन । साबिकको कर्नालीलाई छोडेर सुर्खेतले पनि अगाडि जान्छु भन्ने नसोचे हुन्छ ।
यसैले विशेष अधिकारको कुरा उठाउनुपरिरहेको छ । कमजोर मानव विकास सूचकांकको दूरी घटाउन र दिगो विकासका लागि कर्नालीमा लगानी केन्द्रित होस् भन्नुपरेको छ । अपनत्वका लागि आफ्ना मान्छेको खोजी गर्दा कर्नालीले अनिवार्य भएकाले संसद्मा बाहेक अन्य संवैधानिक क्षेत्र, कूटनीतिक निकाय तथा राज्यका विशिष्ट अंगमा कतै भेट्न पाएको छैन । जनशक्ति नभएको पनि होइन । यसैले भन्न मन लाग्छ, हामी निवेदन हालेर कर्नालीमा जन्मेका थिएनौं ।
अब कर्नालीलाई विकट तुल्याउने र सुगम बनाउन सहयोगी भूमिका खेल्नेहरूको लेखाजोखा गर्नुपर्छ । कोही कसैले कर्नालीमा जन्मेकोमा हीनताबोध गर्नु हुँदैन । कर्नाली ऐतिहासिक भूगोल हो । यहाँ जन्म हुनु र बाँचेर केही गर्न पाउनुलाई दर्सनढुंगामा उम्रेको जुनी ठान्नुपर्छ । यो जीवनलाई सार्थक बनाउन कर्नालीको भूमिका खोजौं । देशले चाहेको योगदान गरौं । यो देशको मुहार फेर्न हाम्रो सपना र ऊर्जा चाहिन्छ ।
इ कान्तिपुरबाट ।।
प्रतिक्रिया दिनुहोस्