७ असार,
। भारत र पाकिस्तान छिमेकी देश तर यी दुई देशबीचको सम्बन्धमा तिक्तता छ । त्यसैले यी दुईबीच जुन खेल भए पनि त्यसको विशेष चर्चा हुन्छ र प्रतिष्ठाको विषय बन्छ । यस्तो साफ च्याम्पियनसिप फुटबलमा यी दुई बीचको खेल छुट्ने कुरै भएन । बिहीबार बेलुकी श्री कान्तिरवा स्टेडिममा लगातार वर्षाका बीच भएको खेल चर्चामा रह्यो ।
कप्तान सुनिल क्षेत्रीको ह्याट्रिकमा भारतले पाकिस्तानलाई ४-० ले हरायो । र घरेलु मैदानमा समथर्कलाई खुसी दियो । १० र १६औं मिनेटमा गोल गरेका सुनिल क्षेत्रीले ७४औं मिनेटमा अर्को गोल थपेर ह्याट्रिक पूरा गरे । ८१औं मिनेटमा उदान्त सिंह कुमानले भारतका लागि चौथो गोल गरे ।
पेनाल्टीबाट २ गोल गरेका सुनिलको भारतका लागि यो चौथो ह्याट्रिक हो । उनले भारतका लागि गरेका गोल संख्या ९० पुर्याएका छन् । यो जितसँगै समूह ए मा ३ अंक जोडेको छ । बुधबारै भएको पहिलो खेलमा कुवेतले नेपाललाई ३-१ ले हराएर ३ अंक नै जोडेको छ । तर गोल अन्तरमा भारत शीर्ष स्थानमा छ ।
भारत र पाकिस्तान दुवै फरक परिस्थितिबाट साफ खेल्न बैंगलुरु आइपुगेका थिए । भारत उडिसामा लेबनन्, मंगोलिया र भानुआतु सम्मिलित फोर नेसन्स कप जितेर बैंगलुरु उत्रिएको थियो ।
पाकिस्तान पनि मरिससमा फोर नेसन्स कप नै खेलेर भारत आएको हो । तर पाकिस्तानले मरिससमा तीनवटै खेल हारेको थियो । र भिसा समस्याका कारण साफ च्याम्पियनसिपको एक दिनअघि मात्र बैंगलुर आइपुगेको थियो ।
२४ घन्टाको पनि आराम गर्न नपाएको पाकिस्तान मैदानमै थकित देखियो ।
प्रशिक्षकलाई रातो कार्ड
पहिलो हाफको ईन्जुरी समयमा भारतका प्रशिक्षक ईगोर स्टिमाकले रातो कार्ड पाए ।
उनलाई नेपालका रेफ्री प्रज्वल क्षेत्रीले रातो कार्ड देखाएका थिए ।
पाकिस्तानका खेलाडी अब्दुल्लाह ईकबालले थ्रो गर्न लागेको बल स्टिमाकले हातले फालेपछि खेलमा तनाव उत्पन्न भएको थियो । केहीबेरको तनावपछि रेफ्री क्षेत्रीले फस्ट असिस्टेन्ट रेफ्री नानीराम थापा मगर र फोर्थ अफिसियल पेमा छेवाङसँग सल्लाह गरेर ईगोरलाई रातो कार्ड देखाए । रातो कार्ड पाएका स्टिमाक शनिबार नेपालसँग हुने खेलमा टचलाइनमा उभिन पाउने छैनन् ।
प्रतिक्रिया दिनुहोस्