Ad imageAd image

बुटवल उपमहानगरपालिकाले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्यायाे

खबर खुराक
खबर खुराक ८ असार २०८०, शुक्रबार
3 Min Read
Aa

  ८, असार ।

बुटवल उपमहानगरपालिकाले स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ । उपमहानगरपालिकाको १३ औं नगरसभा अधिवेशनमा नगर प्रमुख खेलराज पाण्डेयले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल शहर’ भन्ने दीर्घकालीन सोचलाई  पुष्टाई गर्ने खालको कार्यक्रम ल्याएको बताए ।

शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागि उनले शैक्षिक विकास कार्यक्रम सञ्चालन गर्ने बताए । यस्तै सिद्धार्थ बाल तथा महिला अस्पतालमा पारामेडिकल, बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआइ)मा डिप्लोमा तहका इन्जिनियरिङ विषयहरु र अटो भिलेजमा स्नातकमा तहको अटो इन्जिनियरिङको अध्ययन शुरु गर्ने नीति बुटवलले ल्याएको छ ।

पाण्डेयले बुटवलको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि स्वास्थ्य उपचार र जनशक्ति उत्पादनमा जोड दिएको बताउँदै सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा नगरप्रमुख आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने बताए । बुटवल उपमहानगरको वडा नम्बर १३ र १७ मा १५–१५  शय्याका अस्पताल सञ्चालन गर्ने र वडा नम्बर १३ को अस्पतालमा चौबिसै घण्टा आकस्मिक सेवा सञ्चालन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । बुटवलबासीको उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थको शुल्क हटाउने, जेष्ठ नागरिकको घरमै पुगेर उपचार गर्न बाआमासँग नगरप्रमुख कार्यक्रम ल्याएको प्रमुख पाण्डेयले बताए ।

- Advertisement -
Ad image

उनले नीति तथा कार्यक्रममा बुटवलमा लगानी आकर्षित गर्न लगानी सम्मेलन आयोजना गर्ने, महिलाहरुलाई आत्मनिर्भर बनाउन गृहिणी महिला रोजगार कार्यक्रम सञ्चालन गर्ने, पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्दै बुटवललाई उपयुक्त विश्रामस्थलको रुपमा विकसित गर्ने, रात्रीकालीन बजार सञ्चालन गर्ने उल्लेख  गरेका छन् ।

बुटवलको मौलिक भाषा, संस्कृति र सम्पदाको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने, उज्यालो बुटवल, सफा, सुन्दर, हरियालीसहितको सुरक्षित र समुन्नत शहरको रुपमा विकास गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रलाई मूख्य प्राथमिकतामा राख्दै कृषि, पर्यटन, रोजगार, उद्योग, व्यापारजस्ता क्षेत्रको समुन्नतिमा जोड दिने, आधुनिक सूचना तथा सञ्चार प्रविधिको उच्चतम उपयोग गरी शहरलाई जीवन्त बनाउने र सेवाप्रवाहलाई जनउत्तरदायी, पारदर्शी र सुशासनयुक्त बनाउने रणनीति अबलम्बन गरिने बताए ।

उज्यालो बुटवल कार्यक्रमअन्तरगत मुख्य मुख्य चोकहरुमा हाइमास्ट लाईट तथा भित्री सडक र गल्लीहरुमा स्मार्ट स्ट्रिट लाईटको जडान गर्ने पनि नीति तथा कार्यक्रममा भनिएको छ । विद्यालयस्तरमा खेलाडी उत्पादन गर्न मेयर कप फुटबल प्रतियोगिता सञ्चालन गर्ने र विभिन्न खेल प्रतियोगिताहरु सञ्चालन गर्दै खेलमैदानहरुको स्तरोन्नति गर्न प्राथमिकता दिइने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्