Ad imageAd image

डा. अरूणा उप्रेतीकाे दही–मोही महिमा : अन्य पेयपदार्थ र जुसको सट्टामा दही, मही नै खानुपर्छ

खबर खुराक
खबर खुराक १० असार २०८०, आईतवार
4 Min Read
Aa
डा. अरूणा उप्रेती
पेयपदार्थलाई रंगयुक्त बनाउन उपयोग गरिने रसायन तोकिएभन्दा निकै बढी भएको र यसमा क्यान्सर उत्पन्न गर्ने तत्व पाइएको सार्वजनिक गरेको हो।
बजारमा पाइने जुसको सट्टामा घरमा नै हुने दही, मही खानुपर्छ
गर्मीमा शरीरलाई फाइदा -दही–मोही महिमा
मोहीको महत्वको विषयमा योग रत्नाकर नामक ग्रन्थमा लेखिएको एउटा श्लोकको आशय यस्तो छ,‘यदि कैलाशमा मोही (छाछ, वा मठ्ठा) हुँदो हो त शिवजीको कण्ठ विष रोक्नाको कारणले नीलो हुँदैनथ्यो । वैकुण्ठमा मोही हुँदो हो त विष्णुको शरीर कालो हुँदैनथ्यो होला । देवराज इन्द्र सौन्दर्यविहीन हुँदैनथे होला । गणेशजीको पेट त्यति ठूलो हुँदैनथ्यो होला ।’
यस श्लोकमा व्यक्त विचारबाट के अर्थ लाग्छ भने शरीरमा हुने विभिन्न विषालु तत्वलाई निकालेर मानिसलाई स्वस्थ बनाउन मोहीले ठूलो भूमिका खेल्छ । कुनै व्यक्ति स्वस्थ छ भने उसको सौन्दर्य त्यसै नै बढ्छ । यसैगरी आयुर्वेदको अर्को एउटा ग्रन्थमा लेखिएको छ, ‘मोहीको नियमित सेवन गर्ने व्यक्ति रोगी हुँदैन । जसरी स्वर्गमा देवताहरूका लागि अमृत छ, त्यसैगरी मनुष्यका लागि मोहीको प्रयोग सुखदायी हुन्छ ।’
आर्युवेदिक विज्ञानका साथै आधुनिक विज्ञानमा पनि दहीको महत्वको बारेमा स्पष्ट व्याख्या गरिएको छ ।
दूधबाट दही बन्दा एक विशेष प्रकारका कीटाणु पैदा हुन्छन्, जसले हाम्रो स्वास्थ्यका लागि निकै महत्व राख्छन् । बच्चाबच्ची, गर्भवती महिला र वृद्धवृद्धाहरूको हाडको लागि नभई नहुने क्याल्सियम दहीमा पाइन्छ । क्याल्सियमको महत्व हाडको लागि अति नै हुन्छ । उमेर बढ्दै जाँदा हाडको घनत्व कम हुँदै जान्छ र अस्टियोपोरोसिस नामक रोग लाग्ने सम्भावना हुन्छ । विशेषगरी महिनावारी बन्द भएका महिलाहरूमा यो समस्या बढी हुन्छ । यस समस्याबाट बच्नका लागि क्याल्सियमको अति नै महत्व छ । क्याल्सियमयुक्त भोजनको प्रयोग यस रोगबाट बच्ने एउटा राम्रो उपाय हो ।
दही र मोहीमा हुने क्याल्सियमले कुपोषित बच्चा तथा बिरामी भएर तङ्ग्रिन सुरू गरेका बालबालिका सबैका लागि विशेष महत्व राख्छ ।
दही दूधभन्दा धेरै सजिलोसँग पच्छ । दूध खान मन नलाग्ने वा कतिपय अवस्थामा दूध नपच्ने वयस्क व्यक्ति र बच्चाहरूका लागि पनि दही एउटा उत्तम भोजन हो । दूधबाट दही बन्दा विशेष प्रकारका लाभदायक कीटाणुहरू उत्पन्न हुन्छन् ।
ती कीटाणुहरूले पेटमा रहेका हानिकारक कीटाणुलाई नष्ट गर्न मद्दत गर्छन् । कतिपय व्यक्तिहरूलाई एण्टिबायोटिकको प्रयोग गर्दा दिसा–पखाला लाग्ने गर्छ ।
यसबाट बच्न दहीको प्रयोग अत्यन्त लाभदायक हुन्छ । दही पखाला रोक्नुका साथै कब्जियत खुलाउन पनि उपयोगी सिद्ध भएको छ ।
गर्मीमा हामीले batta ko फलफूलको जुस त तागतिलो हुन्छ भनेर खान्छौं, तर त्यो कुहिएको फलफूललाई कच्याकुचुक्क बनाएर राखेको हुन्छ ।
यस्तो जुस दिनु भनेको स्वास्थ्यमा खेलबाड गर्नु हो ।गुलियो र रसायन मिसिएका पेयपदार्थले दाँत, पेट, हाडजोर्नी लगायत शरीरका अन्य अंगहरूमा विभिन्न प्रकारका समस्याहरू उत्पन्न गराउँछ। यस्ता पेय पिउनाले मोटोपन लगायत अनेक किसिमका रोगको शिकार भइन्छ।
त्यस्तै, एक कोल्ड डिंक्सको अध्ययन गर्दा त्यसमा क्यान्सर पैदा गर्ने तत्व मापदण्ड भन्दा निकै बढी भएको पाइएको तथ्य थियाे। द सेन्टर फर इन्भायरमेन्ट हेल्थले सो पेयपदार्थलाई रंगयुक्त बनाउन उपयोग गरिने रसायन तोकिएभन्दा निकै बढी भएको र यसमा क्यान्सर उत्पन्न गर्ने तत्व पाइएको सार्वजनिक गरेको हो।
बजारमा पाइने जुसको सट्टामा घरमा नै हुने दही, मही खानुपर्छ

प्रतिक्रिया दिनुहोस्