Ad imageAd image

पशुपतिनाथ मन्दिरको सुनको जलहरीको तौल १०७ किलो ८०७ ग्राम

खबर खुराक
खबर खुराक १२ असार २०८०, मंगलवार
2 Min Read
Aa

१२ असार, काठमाडौं ।  पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरीको तौल १०७ किलो ८०७ ग्राम देखिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार यसबारे परीक्षण गर्दा सुनको गुणस्तर २२ क्यारेट भएको पनि पाइएको छ। जलहरीबारे संसद्मा प्रश्न उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापतौल र गुणस्तर परीक्षण गरेको हो।

अख्तियारले सोमबार जलहरीको परीक्षण सकेको छ। यद्यपि अन्तिम प्रतिवेदन बनिसकेको छैन। अख्तियारका प्रवक्ता भोला दाहालले अनुसन्धान कार्य चलिरहेकाले अन्तिम निष्कर्ष नआई केही नबोल्ने बताउनुभयो। उहाँले भन्नुभयो, “के–के हुँदै छ, अनुसन्धान अधिकृतलाई मात्रै थाहा हुन्छ। अन्तिम निष्कर्ष आएपछि हामी भन्छौँ।”

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, सुनचाँदी महासङ्घको विज्ञ टोली, खानी तथा भू–गर्भ विभागका प्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको निगरानीमा जलहरी नापतौल र परीक्षणपछि रुद्रगारेश्वरमा राखिएको छ।

जलहरी राखिएको स्थानमा नेपाली सेनाले पहिलो घेरामा सुरक्षा प्रदान गरिरहेको छ। दोस्रो घेरामा सशस्त्र प्रहरी बलको टोली छ। नेपाल प्रहरी र पशुपति क्षेत्र विकास कोषबाट परिचालित निजी सुरक्षागार्डले पनि सुरक्षा प्रदान गरिरहेका छन्। उक्त स्थानलाई सिसिटिभीबाट निगरानी गरिएको छ।

- Advertisement -
Ad image

गर्भगृहमा जलहरी राखिने

पशुपति क्षेत्र विकास कोषको कार्यालयका अनुसार बिहीबारसम्ममा सुनको जलहरी पुनः गर्भगृह अर्थात् ज्योतिर्लिङ्गमा राख्ने तयारी भइरहेको छ। एक पदाधिकारीका अनुसार जलहरी निकाल्ने बेलामै क्षमापूजा गरिसकिएकाले अब पुनस्र्थापित गरिने छ।

कोषका प्रवक्ता रेवतीरमण अधिकारीले सुनको जलहरी निकालिए पनि नियमित पूजा आराधना सुरु भएको बताउनुभयो। उहाँले भन्नुभयो, “गर्भगृहबाट जलहरी निकाल्ने र नापजाँच गर्ने बेलामा पूजा रोकिएको थियो। सोमबार बिहानदेखि नियमित पूजा सुचारु छ।”

कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान प्रक्रिया टुङ्ग्याएपछि मात्रै जलहरीको विषयमा बोल्न मिल्ने बताउनुभयो। उहाँले भन्नुभयो, “आयोगको प्रतिवेदन आएपछि यो विषय टुङ्गिन्छ। अहिले हामीले केही बोल्न मिल्दैन।”

प्रतिक्रिया दिनुहोस्