१३ असार, कञ्चनपुर । कञ्चनपुरमा एक लाख ४७ हजार चार सय ५३ बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप लगाइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जेठ अन्तिम साता सञ्चालन गरेको खोप अभियानमा लक्ष्यभन्दा ३० हजार बढी बालबालिकाले खोप लगाएका हुन् । स्वास्थ्य कार्यालयले छ महिनादेखि १५ वर्षमुनिका एक लाख १८ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य राखेको कार्यालयका कोल्ड चेन अधिकृत जनक कुँवरले बताए । “हामीले राखेको लक्ष्यभन्दा धेरै बढी बालबालिकालाई खोप लागएका छौँ”, उनले भने, “अहिले पनि छुटेका केही बालबालिकालाई खोप लगाइराखेका छाँै ।”
उनका अनुसार छ महिनादेखि पाँच वर्षमुनिका ३९ हजार तीन सय ९३ र पाँच वर्षदेखि १५ वर्षमुनिका एक लाख आठ हजार ६० बालबालिकाले खोप लगाएका हुन् । खोप अभियानका लागि जिल्लाभरिमा पाँच सय ६५ केन्द्र तोकिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्