१५ असार, काठमाडौं । माईपे डिजिटल वालेटले मासिक पाँच हजार रुपैयाँसम्मको ‘माई फस्ट डिजिटल वालेट’ छात्रवृत्ति योजना सार्वजनिक गरेको छ । कम्पनीले एसईई पास भएका १०० जना विद्यार्थीलाई उक्त छात्रवृत्ति प्रदान गर्ने भएको हो ।
एसईई पास गरेका युवा विद्यार्थीलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले यो छात्रवृत्ति योजना ल्याएको माईपेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले जनकारी दिए ।
‘युवाहरूले नै नवीन प्रविधिलाई सबैभन्दा पहिला आत्मसाथ गर्न सक्छन्,’ मेहताले भने, ‘त्यसैले हामीले उनीहरूलाई बेलैमा डिजिटल प्रविधितर्फ आर्कषित गरी डिजिटल साक्षरता दिनसके डिजिटल नेपालको सपनालाई साकार पार्न समेत सहयोग मिल्नेछ ।’
यो छात्रवृत्ति कार्यक्रमबाट जम्मा एक सय विद्यार्थी लाभान्वित हुने कम्पनीले जनाएको छ । जसमा ९९ जना विद्यार्थीले मासिक ५०० का दरले एक वर्षसम्म र एक जना विद्यार्थीले मासिक पाँच हजार रुपैयाँका दरले एक वर्षसम्म छात्रवृत्ति प्राप्त गर्न सक्नेछन् ।
एसईई दिएर बसेका विद्यार्थीहरूले यो कार्यक्रममा सहभागी हुन माईपे वालेट डाउनलोड गरी वालेटभित्र रहेको फाराम भर्नु पर्नेछ । फाराम भर्नका लागि १० रुपैयाँ शुल्क लाग्नेछ ।
देशैभरका विद्यार्थी यो योजनामा सहभागी हुन सक्ने बताइएको छ । छात्रवृत्तिका लागि छनौट भइसकेपछि विद्यार्थीले आफ्नो मार्कशिट तथा कक्षा ११ मा भर्ना भएको प्रमाण समेत पेस गर्नुपर्नेछ । यसका लागि साउन मसान्तसम्म आवेदन दिइसक्नु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्