२२ जेठ ।
तराईका जिल्लामा अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ । पूर्व, मध्य र पश्चिम तराईका जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस पुगेको छ । तातो हावा र लु लाग्न थालेपछि तराई मधेशका जिल्लाहरुमा विद्यालय बन्द गरिएको छ ।
सुदूरपश्चिमका केही स्थानमा गएराति र आज बिहान हल्का बदलीको अवस्था रहेकाले अन्य स्थानको तुलनामा कम गर्मी छ । तर कैलालीदेखि पूर्वका तराईका जिल्लामा पनि गर्मी अत्यधिक छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार बाँकेको नेपालगञ्ज, रुपन्देहीको भैरहवा, चितवनको रामपुर, बाराको सिमरा र मोरङको विराटनगर लगायतका स्थानमा अधिकतम तापक्रम आज पनि चालिस हाराहारीमै रहने पूर्वानुमान छ ।
मौसमविद गोविन्द झाका अनुसार तीन दिनअघि नवलपरासीको दुम्कौलीमा अधिकतम तापक्रम ४३ डिग्री सेल्सियस मापन भएको थियो । यो नै यस वर्षको सबैभन्दा बढी गर्मीको रेकर्ड हो । हिजो सबैभन्दा बढी गर्मी चितवनको रामपुरमा महसुस भएको थियो । रामपुरमा हिजो सबैभन्दा बढी अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस मापन गरिएको थियो ।
तराई–मधेशका जिल्लामा तत्काल पानी पार्ने नयाँ प्रणाली विकसित पनि भएको छैन । उनका अनुसार सुदूरपश्चिमको तराई भेगमा भने न्युनचापीय प्रणाली र स्थानीय वायुको हल्का प्रभाव छ । यसले गर्दा गएरातिदेखि नै बदलीको अवस्था छ । आज बिहान पनि हल्का बदलीको अवस्था भए पनि पानी भने नपार्ने मौसमविद झा बताउँछन् ।
तर सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशीका पहाडी भागका थोरै स्थानहरुमा आज दिउँसोतिर मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ । ‘तर तराई–मधेशका जिल्लातिर त बदली पनि लाग्दैन,’ मौसमविद झाले भने, ‘खुला आकाश छ, जमिन तातिरहेको छ । त्यसैले अत्यधिक गर्मी भइरहेको छ ।’
नेपालको भौगोलिक अवस्था अनुसार मे र जुन महिना बढी गर्मी हुने महिनाहरु हुन् । यी महिनामा पानी परेन अथवा बादल लागेन भने गर्मी अत्यधिक महसुस हुन्छ । गर्मी बढी हुँदा जमिन तात्छ । पानीका स्रोत धेरै भएका स्थानबाट बाफ उडेर बादल बन्ने र स्थानीयस्तरमा पानी पार्ने प्रणाली विकसित भएर वर्षा हुने, बादल लाग्ने हुन्छ । यस्तो वर्षा केही स्थानमा मात्र हुन्छ । अहिले केही दिनयता पानी नपरेकाले प्रि मनसुन अवधि नै सुक्खा छ । त्यसैले गर्मी बढिरहेको छ ।
वरिष्ठ मौसमविद इन्दिरा कँडेलका अनुसार पानी नपरेमा यस्तो गर्मी यथावत रहने वा योभन्दा पनि बढ्नसक्ने सम्भावना रहन्छ । जंगलमा डढेलो लागेकाले र प्रदूषण बढेकाले गर्मी बढ्न सहयोग पुगेको मौसमविद बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्