१८ असार, काठमाडौं । गुरु पूर्णिमा गुरुको सम्मानमा मनाइने एउटा पर्व हो। त्यस्ता गुरु आध्यात्मिक पनि हुन सक्छन् वा प्राज्ञिक। मानिसको जीवनको प्रारम्भिक कालदेखि नै गुरुहरूको महत्त्वपूर्ण भूमिका र प्रभाव हुने गर्छ।
कुनै पनि व्यक्ति सफल वा असफल हुने कुरा समेत गुरुले उनलाई कस्तो शिक्षा दिन्छन् भन्नेमा निर्भर हुने ठानिन्छ।
त्यस्ता गुरु भनेका औपचारिक शिक्षा दिने शिक्षक मात्र नभएर जो कोही हुन सक्छन्।
विशेषगरी हिन्दू धर्मावलम्बीहरूले आषाढ शुक्ल पूर्णिमाको दिनलाई गुरु पूर्णिमाका रूपमा मनाउँछन्।
हिन्दू संस्कृतिको प्रभाव तथा उक्त संस्कृतिलाई पछ्याउँदै अन्य कतिपय धार्मिक सम्प्रदायले पनि नेपालमा गुरु पूर्णिमा मनाउने गरेका छन्।
यस वर्षको गुरु पूर्णिमा सोमवार परेको छ र नेपालसहित हिन्दूहरूको बसोबास भएका भारतसहितका देशहरूमा यो पर्व मनाइँदै छ।
पौराणिक मान्यताअनुसार गुरु पूर्णिमा भनेको वेद व्यासको जन्मदिन पनि हो। कतिपय जानकारहरू उनैको सम्मानमा गुरु पूर्णिमा मनाउन थालिएको र यो दिनलाई व्यास पूर्णिमा पनि भनिने गरेको बताउँछन्।
कतिपय हिन्दू शास्त्रहरूमा गुरु पूर्णिमाको दिन महर्षि वेद व्यासले चार वटै वेदको रचना गरेका हुनाले उनको नाम वेद व्यास राखिएको उल्लेख भएको बताइन्छ।
प्राचीन कालदेखि नै नेपालमा गुरुको भूमिका महत्त्वपूर्ण रहेको मान्यता छ।
विशेष गरी पूर्वीय सभ्यतामा गुरुलाई उच्च स्थान र सम्मान दिने चलन रहेको छ।
त्यो आधुनिक कालमा पनि जारी रहेको देखिन्छ।
अर्को पौराणिक मान्यता अनुसार भगवान् शिवले गुरु पूर्णिमाकै दिनबाट सप्त ऋषिलाई योग सिकाउन थालेका थिए।
बौद्ध धर्म मान्नेहरूले पनि गौतम बुद्धको सम्झनामा गुरु पूर्णिमा मनाउने गर्छन्।
उनीहरूका मान्यतामा गौतम बुद्धले यसै दिन आफ्नो पहिलो उपदेश दिएका थिए।
गुरु पूर्णिमालाई आधुनिक शिक्षालयहरूमा पनि धूमधामसँग मनाउने गरिन्छ
यो दिनमा छात्रछात्राहरूले गुरु महिमा गाउने, उनीहरूको सम्मानका कार्यक्रम राख्ने तथा उपहार दिने समेत चलन चलेको छ।
“अहिले आधुनिक तरिकाले गुरु पूर्णिमा मनाउने कुरामा कतिपय चलन राम्रै पनि छन् तर गुरु र शिष्यको पहिलेको जस्तो मान्यता अब रहेन,” भट्टराई भन्छन्।
“अहिले समाजमा हरेक कुरालाई आर्थिक कुरासँग जोडेर हेर्न थालियो त्यसले पूर्वीय सभ्यतामा गुरु-शिष्यको जुन खाले परम्परा थियो त्यसमा व्यापक परिवर्तन आएको छ।”
त्यस्तै हिन्दू मान्यता अनुसार आफूलाई गायत्रीमन्त्र सुनाउने गुरुलाई यो दिनमा गुरु दक्षिणा दिने चलन पनि छ।
त्यस्ता गुरुहरू भेट नभएमा विभिन्न माध्यमबाट सम्झना गर्ने र पछि गुरु दक्षिणा चढाउने पनि कतिपयले गर्ने गर्छन्।
प्रतिक्रिया दिनुहोस्