१८ असार, काठमाडौं । सोमबार बिहान मोरङको बुढीगंगा गाउँपालिका–३ मा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती गम्भीर घाइते भएकी छिन्।
भारतको आसाम घर भई हाल सुनसरीको दुहबी नगरपालिका–७ भलुवामा रहेको ससुराली घर बस्दै आएका ३७ वर्षीय भवेन्द्र डेकाले श्रीमतीलाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएकी मोरङ प्रहरीले जनाएको छ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार डेकाले श्रीमती २५ वर्षीया रेखा भगतलाई खुकुरी प्रहार गरी घाइते बनाएका हुन्।
बुढीगंगा–३ स्थित दुर्गाचन्द्र राइस मिलअगाडि सोमबार बिहान साढे ६ बजेतिर भवेन्द्रले रेखालाई खुकुरी प्रहार गरेको बताउँदै, डिएसपी दाहालले भने, ‘ठ्याकै अहिले घटना किन र के का लागि भएको हो खुल्न सकेको छैन। घाइते रेखाका श्रीमान् भवेन्द्रलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान तथा सोधपुछ गर्ने कार्य भइरहेको हुँदा घटनाको यथार्थ आइसकेको छैन।’
उनी आसाम घर भए पनि दुहबीमा श्रीमतीसँगै ससुरालीमा भवेन्द्र बस्दै आएका थिए। खुकुरी प्रहारबाट रेखाको दाहिने नाडी र २ वटा औँला छिन्न लागेको अवस्थामा उद्धार गरी बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।
उनको नाडी र औंलामा चोट बाहेक अन्य शरीरमा बाहिरी चोट नदेखिएको र उनको उपचार विराट मै भइरहेको डिएसपी दाहालले बताए।
घटनामा प्रयोग भएको खुकुरी पनि बरामद भएको बताएका डिएसपी दाहालले भने, ‘घटना अन्य कारण नभई पारिवारिक विवादका कारण भएको हुन सक्छ। घटनाको यथार्थ कुरा अनुसन्धानपछि आउने छ।’
प्रतिक्रिया दिनुहोस्