२८ असार,काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर उडान सुरक्षित बनाउन आगामी सेप्टेम्बरसम्म तीन प्रकारका हेलिकप्टर उडानमा रोक लगाएको छ। गत मंगलबार माउन्टेन फ्लाइटका लागि सोलुखुम्बु गएका ५ विदेशी पर्यटकसहित ६ जनाको ज्यान जाने गरी मनाङ एयरको हेलिकप्टर दुर्घटना भएपछि प्राधिकरणले नयाँ नियम जारी गरेको हो।
नयाँ नियमअनुसार हेलिकप्टर उडानलाई सुरक्षित बनाउन आगामी अढाई महिनासम्म माउन्टेन, सिलिङ र गैरआवश्यक उडानमा रोक लगाइएको हो। उडानलाई सुरक्षित बनाउन यसबाहेक थप ४ वटा निर्णय प्राधिकरणले गरेको छ।
प्राधिकरणले हेलिकप्टर, छोटो उडान र अवतरणका लागि दैनिक नियन्त्रण र सुपरीवेक्षण टोली गठन गर्ने निर्णय गरेको छ । साप्ताहिक समीक्षा गरी सेप्टेम्बरसम्म मनसुनमा एडीटी केन्द्रित उद्धार उडानलगायत हेलिकप्टर सञ्चालन अनुमति दिने निर्णय गरेको छ । यसैगरी उडान सञ्चालन अनुमति दिँदा प्रस्थान वा अवतरणमध्ये कम्तिमा एक स्थान अनिवार्य विमानस्थल हुनुपर्ने र कम्पनीमा शेयर भएको चालक दललाई सबै प्रकारका व्यवसायिक उडानको विशेषाधिकार खारेज गरेको छ ।
प्रतिक्रिया दिनुहोस्