Ad imageAd image

बाढीलाई कसरि बुज्‍ने ?

खबर खुराक
खबर खुराक २८ असार २०८०, बिहीबार
8 Min Read
Aa

 

जीवनमणि पौडेल

वर्षायामको सुरुआतसँगै केही वर्षयता हामी भारी वर्षा, बाढी, पहिरो लगायतका प्रकोपहरूको सामना गरिरहेका छौं । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूका प्रतिवेदनमा उल्लेख भएका तथ्यांक हेर्दा नेपालमा हरेक वर्ष औसत १७० देखि २०० जनासम्म मानिसको मृत्यु बाढी र बाढीजन्य घटनाहरूका कारण हुने गरेको छ ।

आर्थिक क्षतिको आँकडा नियाल्दा कुल राष्ट्रिय आयको झन्डै १.४ प्रतिशत नोक्सानी बाढीकै कारणले हुने गरेको देखिन्छ । सन् १९७१ देखि २०११ सम्मका प्राकृतिक प्रकोपमा भएको मानवीय क्षतिको तथ्यांक विश्लेषण गर्दै २०१८ मा प्रकाशित एउटा अनुसन्धानात्मक अध्ययनले कुल मानवीय क्षतिको ३४.५ प्रतिशत बाढीका कारण मात्र हुने गरेको तथ्य अगाडि ल्याएको थियो । यी तथ्यांकहरू हेर्दा पनि प्राकृतिक प्रकोपबाट नेपालमा हुने मानवीय क्षतिको ठूलो हिस्सा बाढीसँग जोडिएको देखिन्छ ।

एसियाली विकास बैंकको प्रतिवेदन अनुसार, नेपाल बाढीको सापेक्ष प्रभावको दृष्टिले विश्वको दसौं उच्च स्थानमा छ । यही वर्ष पनि मनसुन सुरु भएसँगै पूर्वी नेपालको पहाडी क्षेत्रमा आएको बाढीका कारण ३० जनाभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । विस्थापित मानिस तथा भौतिक र आर्थिक क्षतिको विवरण संकलन भए पनि सार्वजनिक भैसकेको छैन । विश्वको प्राकृतिक प्रकोपजन्य मानवीय क्षति, विस्थापन र भौतिक सम्पत्तिको तथ्यांक हेर्दा पनि बाढी र यसले पुर्‍याउने हानि–नोक्सानीको हिस्सा सबैभन्दा बढी छ । स्टटिस्टाको वेबसाइटमा राखिएको सूचना अनुसार, बाढीका कारण सन् २०२० मा विश्वमा ६,१७९ मानिसले ज्यान गुमाए । १ करोड ६१ लाख मानिस बाढीकै कारण विस्थापित भए । एकदुई वर्षहरूलाई अपवाद मान्दा यी दुवै रेखीय तथ्याङ्क सन् १९७० पछि निरन्तर रूपमा उकालो लाग्दै आएका छन् । विश्वको बढ्दो तापक्रमले त यो रेखाको गति झन्झन् उकालो चढ्ने प्रक्षेपण जलवायु परिवर्तन सम्बन्धी अन्तरसरकारी प्यानलले विभिन्न समयमा प्रकाशित गर्दै आएका प्रतिवेदनहरू र अन्य अध्ययन–अनुसन्धानले गरेका छन् । तसर्थ पनि बाढी र बाढीजन्य घटनाहरू वर्तमान मानव समाजका लागि ठूलो जोखिमका रूपमा देखा परेका छन् र विश्वको तापक्रम बढ्दै जाँदा यो झन् वृद्धि हुँदै जानेछ । हामी पनि यो जोखिमलाई नचाहँदा–नचाहँदै बेहोर्नुपर्ने अवस्थामा छौं र त्यसलाई बेहोर्दै पनि आएका छौं ।

- Advertisement -
Ad image

हामी नवीन र कमजोर भौगोलिक धरातलीय संरचनामा बसेका छौं । यसलाई हेर्दा हामी बसेको भूगोल प्राकृतिक प्रकोपका दृष्टिले ज्यादै जोखिममा छ । यसले नेपालसहित समग्र हिमालय क्षेत्रको सामाजिक–पर्यावरणीय परिस्थितिमा जोखिम बढाएको छ । यो जोखिमका मूलभूत तीन कारक देखिन्छन्- (१) नियमित रूपमा हुने प्राकृतिक प्रकोपका घटनाहरू, (२) मानव–सञ्चालित गतिविधिहरू, र (३) विश्वको बढ्दो तापक्रम । विश्वको बढ्दो तापक्रमले गर्दा पछिल्ला तीन–चार दशकमा पानी पर्ने तरिकामा ठूलो परिवर्तन देखिएको छ । वर्षौंदेखि जमेर रहेका हिमचट्टानहरू द्रुतगतिमा पग्लने क्रममा छन् । हिमतालहरूको आयतन बढ्ने र ती फुट्दो क्रममा छन् । मनसुनी र आकस्मिक बाढीका घटनाहरू बढेका छन् । यसको ज्वलन्त उदाहरण नेपालमा पछिल्ला वर्षहरूमा आएका बाढीहरू हुन्- २०६५ को सप्तकोशीको बाढी, २०६८ को वैशाखको सेतीको आकस्मिक बाढी, २०७३ को भोटेकोशीको बाढी, २०७८ का मर्स्याङ्दी र मेलम्चीका बाढी । यी घटनाहरूले पनि हामी विश्वको बढ्दो तापक्रम, प्राकृतिक तथा मानवसृजित गतिविधिका कारण उत्पन्न भएका बाढीपहिरोजस्ता घटनाहरूबाट उत्पन्न जोखिमबाट बाहिर रहन सकेको देखिँदैन ।

हामीले बाढीजन्य घटनालाई भेल वा पानीको बहावको मात्रासँग मात्र जोडेर हेर्ने गर्दै आएका छौं । के त्यसो भए बाढीको प्रकोप पानीको बहाव बढेका कारण मात्र भएको हो त ? के हाम्रा क्रियाकलाप वा गतिविधिहरू यसका लागि जवाफदेह छैनन् ? अहिलेको विश्व पुँजीवादी अर्थव्यवस्थासँग जोडिएको छैन ? राज्यका नीतिसँग जोडिँदैन ? बाढीको अर्थराजनीतिका बारेमा सोच्न आवश्यक छैन ? यी र यस्ता प्रश्नहरूका बारेमा सोचिँदैन भने बाढीजन्य घटनाप्रतिको हाम्रो बुझाइ र हेराइ आफैंमा त्रुटिपूर्ण र एकांगी हुन जान्छ ।

फेरि एक पटक फर्कौं त असार ४ गते रातिको कोशी प्रदेशको हेवा खेलाको बाढी र त्यसले निम्त्याएको मानवीय क्षतितर्फ । बाढीमा पर्ने अधिकांशमा जलविद्युत्गृह निर्माणमा कार्यरत कर्मचारी र मजदुरहरू छन् । ती सबैजसो कामका सिलसिलामा त्यहाँ पुगेका थिए । उनीहरू पानीको बहावक्षेत्रमा बसेर जलविद्युत् गृह निर्माण गर्दै थिए जुन आफैंमा जोखिमयुक्त स्थान हो । त्यसैले त प्रसिद्ध समाजशास्त्री अलरिक बेक भन्छन्- जब योजनाबद्ध र योजनाविहीन मानवीय गतिविधि र क्रियाकलापहरू गलत ठाउँमा हुन थाल्छन्, तिनले मानवीय जोखिम र खतराहरूको दर पनि बढाउँछन् । वास्तवमा बेक सही छन् । वर्षाको समयमा खोला किनारमा बसेर हामी आफैं जोखिमलाई निम्त्याइरहेका त छैनौं ? यसले हामीसामु बाढी र बाढीजन्य घटनालाई प्राकृतिक प्रकोपको भाष्यबाट मात्र हेर्ने कि मानवीय क्रियाकलापसँग पनि गाँसेर हेर्ने भन्ने प्रश्न तेर्स्याएको छ । यो प्रविधिको विकाससँगै जोडिएको जोखिम होइन त ? यो भौतिक विकासको चाहना, जलविद्युत् कम्पनीले देखेको नाफा, राज्यले देखेको कर संकलनको स्रोत र कामदारले देखेको जीविकोपार्जनको उपायसँग जोडिएको विषयवस्तु होइन ? त्यसैले यी र यस्ता घटनाहरूलाई पानीको बहावभन्दा बाहिर निस्केर गहन रूपमा केलाउन आवश्यक छ ।

बाढी ‘वस्तुपरक’ घटना हो वा ‘आत्मपरक’ ? यसलाई ‘घटना’ का रूपमा बुझ्ने वा ‘प्रक्रिया’ का रूपमा ? यो सधैं विद्वान्हरूबीच नटुंगिने बहसका रूपमा आएको देखिन्छ । तर मिडियामा आउने समाचार, सरकारी र गैरसरकारी निकायहरूले संकलन र तयार पार्ने प्रतिवेदनले यसलाई प्रक्रियामा भन्दा घटनाकेन्द्रित, आत्मपरकभन्दा वस्तुपरक रूपमा प्रस्तुत गरेको देखिन्छ । बाढीबाट कति जनाको मृत्यु भयो, कति जना बेपत्ता भए, कति विस्थापित भए र कति आर्थिक–भौतिक क्षति भयो भन्ने विषयवस्तुमा समाचार र प्रतिवेदनहरू केन्द्रित छन् । यी तथ्यांकको आवश्यकता र महत्त्व छ तर मानवीय पक्षमा भएको क्षतिलाई बुझ्न यो मात्र पूर्ण छैन । मानवीय क्षतिसँगै जोडिएर आउने व्यक्तिका अन्य सामाजिक, आर्थिक, शैक्षिक, सांस्कृतिक, राजनीतिक तथा मनोवैज्ञानिक पक्षका बारेमा खोइ त खोजी ? त्यसका बारेमा खोइ त अभिलेख ? यी पक्षहरूको अभिलेखीकरण आवश्यक छैन ? के सरकार वा सम्बन्धित पक्षहरूको अन्तिम कार्य नै तथ्यांक अभिलेखीकरण गर्नु मात्र हो ? के घटनापछि सम्बन्धित व्यक्तिहरूको आश्रित परिवारमा परेका समस्याका बारेमा पनि सरकार र गैरसरकारी निकायहरूको जिम्मेवारी र जवाफदेही रहनुपर्दैन ? यी पक्षहरूका बारेमा सार्वजनिक बहस हुनुपर्छ ।

अहिले पनि हामीले एकपक्षीय रूपमा बाढीका घटनाहरूलाई तथ्यांक र क्षतिपूर्तिकेन्द्रित भएर संश्लेषण गरिरहेका छौं । यसमा आधुनिक ज्ञान दोषी छ, जसमा मात्रात्मक तथ्यांक र कम्युटर प्रविधिले निकालेको तथ्यांकको दबदबा छ । ज्ञानदेखि नीतिसम्मका बहसहरूमा युरो–अमेरिकी ज्ञानको हालीमुहाली छ । यसले अन्य ज्ञानलाई बेकामे बनाएको छ । हामी त्यसको दासत्वलाई स्वीकार गर्न बाध्य छौं । उसले भन्छ- सूचना भनेको तथ्यांक हो, यो तथ्यमा आधारित हुनुपर्छ, वस्तुपरक हुनुपर्छ । हामीले पनि हो नै भन्दै आएका छौं । त्यसैले बाढीपहिरोबाट भएको मानवीय र भौतिक क्षतिलाई पनि जोडदार रूपमा अंकगणितीय रूपमा मापन गर्दै आएका छौं । समाचारका शीर्षकहरू र सरकारी–गैरसरकारी प्रतिवेदनहरूका लागि पनि तीनै अंकगणितीय आँकडाहरू महत्त्वपूर्ण भएका छन् । बाढीका आत्मपरक विश्लेषण र बुझाइहरू गौण भएका छन् । बाढीपछिका दीर्घकालीन असरहरू अभिलेखीकरण भएका छैनन् । यसरी अंकगणितीय आँकडाले बाढीपीडितहरूका वास्तविक समस्यालाई न चित्रण गर्न सक्छ न त अन्य बहुआयामिक पक्षलाई बुझ्न ।

अन्त्यमा, बाढीपहिरो प्राकृतिकभन्दा ज्यादा सामाजिक र अर्थराजनीतिक घटना हो । यसलाई प्राकृतिक प्रकोपका रूपमा मात्र नहेरी मानवीय क्रियाकलाप र गतिविधिसँग जोडेर हेर्नुपर्छ । यो आधुनिक प्रविधिको विकाससँगै बढ्न थालेकाले मानवसृजित घटना हो । पुँजीवादी अर्थव्यवस्थासँग मायाप्रीति गाँसिएको घटना हो । राज्यका नीतिहरूसँग गाँसिएको घटना हो । त्यसैले यसलाई आँकडाभन्दा माथि उठेर वातावरण, समाज र प्रविधिबीचको अन्तरसम्बन्धका आधारमा बुझ्न आवश्यक छ । यसलाई प्राकृतिक र मानवसृजित क्रियाकलाप जोडिएको नदीको दोभानका रूपमा हेर्नुपर्छ । यसलाई विश्वको पुँजीवादी परिवेशसँग जोडेर हेर्नुपर्छ । यसका लागि विहंगम दृष्टिकोण र गहन अध्ययनको आवश्यकता छ ।

इ कान्तिपुरबाट ।।

प्रतिक्रिया दिनुहोस्