ओस्टियो आर्थराइटिस घुडाँ खिइने रोग आजको एक प्रमुख समस्या हो. घुडाँ शरीरको एक महत्वपूर्ण जोर्नी हो. सामान्य रुपमा हिँड्डुल गर्न, उकालो–ओरालो हिँड्न र जस्तो सुकै शारीरिक व्यायाम गर्न पनि स्वस्थ घुँडा आवश्यक पर्छ. घुडाँले राम्रो सँग काम गर्न यसभित्र भएको एक महत्वपूर्ण भाग आर्टिकल कार्टिलेज स्वस्थ हुनु जरुरी हुन्छ. यदि कुनै पनि कारणले घुडाँभित्र रहेको आर्टिकल कार्टिलेज एक प्रकारको चिल्लो पदार्थ बिग्रेमा दुई वटा हड्डी एक आपसमा नजिक हुन्छन् र घोटिन थाल्छन्, जसलाई घुडाँ खिइएको भानिन्छ ।नेपालमा घुडाँ खिइएको मानिसको संख्याको बारेमा कुनै ठोस तथ्यांक नभए पनि छिमेकी देश भारत र संसारको तथ्यांक हेर्ने हो भने लाखौंको संख्यामा बिरामीहरु घुडाँ खिइने रोग ओस्टियो आर्थराइटिस बाट पीडित छन् भन्न सकिन्छ ।
घुडाँ खिइने कारण
१. उमेरको कारणले खिइने रोग
२. पुरानो चोटको कारण
३. बाथ रोग
४. जोर्नीको संक्रमण
५. रगत सम्बन्धी रोग जस्तै , हेमोफिलिया
माथि उल्लेखित एक वा एकभन्दा धेरै कारणले मानिसको घुडाँ खिइने समस्या आउन सक्छ । यो समस्या सुन्दा एउटै जस्तो लागे पनि यसका विभिन्न स्टेज हुन्छन् । जस अनुसार उपचार पद्दति पनि फरकफरक हुन्छन् । बिरामीको लक्षण, डाक्टरको जाँच र एक्स–रे गरेर घुडाँ खिईने अवस्थालाई ग्रेडिङ्ग गर्न सकिन्छ । एक्स–रे हेरेर यस रोगलाई चार वटा ग्रेडिङ्ग गरिए तापनि घुडाँ खिइने रोगलाई ३ वटा अवस्थामा राख्न सकिन्छ ।
यी तीन अवस्थामा बिरामीको लक्षण चेकजाँच र उपचार विल्कुल नै फरक हुन्छ । त्यसैले बिरामीले के बुझ्नुपर्छ भने घुडाँ खिईएको भन्दैमा सबैको उपचार एउटै हुँदैन । मानौ बिरामीको उमेर ४० वर्षको छ र उसको घुडाँ खिइएको छ , उसको अवस्था र उपचार तथा एउटा ६५ वर्षको बिरामीको अवस्था र उपचारमा विल्कुल फरक पर्छ । त्यसैले बिरामीले आफ्नो डाक्टरसँग घुडाँको समस्याको कारण र यदि घुडाँ खिइएको छ भने कुन अवस्थामा खिईएको छ प्रष्ट हुन जरुरी छ ।
घुडाँ खिइने अवस्था
शुरुकोे अवस्था
यदि तपाईंको उमेर करिब ४५ वर्षको छ र घुँडा भर्खरै मात्र दुख्न शुरु भएको छ भने त्यो घुँडा खिईने शुरुकोे अवस्था हुन सक्छ.। यस्तो अवस्थामा आराम हुँदा दुख्दैन तर गरिरहेको कामभन्दा धेरै काम गर्नु परेमा, उकालो–ओरालो धेरै हिँड्नु परेमा र टुक्रुक्क परेर बस्नु परेमा मात्र दुखाई हुन्छ । यसका साथै घुडाँ थोरै मात्रामा सुनिने र हिँड्दा गारो महसुस हुन सक्छ । यसमा एक्स–रे गर्दा थोरै मात्र खिईएको देखिन्छ । यस्तो अवस्था आएमा केही समयको औषधि सेवन र जीवनशैली परिवर्तनको सहायताले समस्या को समाधान गर्न सकिन्छ ।
बीचको अवस्था
शुरुकोे अवस्था पहिचान र उपचार नभएको खण्डमा रोग बढ्दै गएर जटिल अवस्था आउन सक्छ.। यस बेलामा बिरामीको घुँडाको दुखाई बढ्न थाल्छ र सामान्य हिँडडुलमा पनि दुखाई हुन्छ. यसका साथै बिरामी टुक्रुक्क परेर बस्न नसक्ने र भ¥याङ ओर्लन निकै गाह्रो हुन्छ । घुँडा र खुट्टा केही सुन्निने केही बाङ्गो हुने समस्या पनि हुन्छ ।
बीचको अवस्थाको उपचार विभिन्न किसिमबाट गर्न सकिन्छ. घुडाँ र यसको वरिपरि विभिन्न किसिमका सुई लगाउने, विभिन्न औषधि प्रयोग गर्ने र केही अपरेसनबाट पनि यसको उपचार गरिन्छ ।
अन्तिम अवस्था
घुडाँ खिईएर अवस्था बिग्रिँदै जाँदा बिरामीलाई धेरै नै गाह्रो हुन थाल्छ । विशेषागरी सामान्य अवस्थामा हिँडडुल गर्दा पनि दुखाई हुने, वैशाखीको साहारा लिनुपर्ने तथा राति पनि घुडाँ दुख्ने हुन सक्छ । घुडाँमा पटकपटक पानी जम्मा हुने र खुट्टा बांगो हुने समस्या आउन सक्छ । यस अवस्थामा बिरामीलाई व्हिल चेयरको पनि आवश्यकता पर्न सक्छ । बिरामीको एक्स–रे गरेको खण्डमा बांगो देखिने र दुई हड्डी एक आपसमा नजिक आएर छुने हुन जान्छ । यस्तो अवस्थामा बिरामीलाई औषधि र थेरापीले खासै कम नगर्ने भएकोले जोर्नी प्रत्यारोपण एक मात्र विकल्प हुन सक्छ ।
घुडाँ खिईन नदिन के गर्ने
व्यस्त जीवनशैली, बढ्दो उमेर, उचित खानपान र व्यायामको अभावका कारण घुडाँ खिइने समस्या बढ्दै गएको छ । घुडाँ खिईन नदिन विभिन्न उपाय अपनाउन सकिन्छ ।
जीवनशैली परिवर्तन
शरीरको तौल नियन्त्रण गर्ने, स्वस्थ आहारविहार खाने, उकालोओरालो कम हिँड्ने, पलेँटी कसेर नबस्ने र घुँडा सकेसम्म नखुम्च्याउने गर्नाले घुँडा खिइने प्रक्रियालाई कम गर्न सकिन्छ ।
नियमित थेरापी र कसरत
घुडाँ खिइँदै गएपछि घुडाँ वरिपरिको मांसपेसी पनि कमजोर हुँदै जान्छ । यसका कारण बिरामीको फिला तथा पिंँडुला गल्ने, दुख्ने तथा पोल्ने समस्या हुन सक्छ । यस्तो अवस्थामा नियमित फिजियो र कसरत गरेर घुडाँ वरिपरिको मांसपेसी बलियो पार्न सकिन्छ र समस्या कम गर्न सकिन्छ । यो प्रक्रिया एक र दुई दिन गरेर फाईदा नहुने भएकाले नियमित रुपमा गर्नुपर्छ ।
औषधिको प्रयोग
विभिन्न औषधिको प्रयोगबाट घुँडा खिईने रोगलाई केही हदसम्म कम गर्न सकिन्छ । घुँडालाई फाइदा गर्ने धेरै औषधिहरु भए पनि यिनका फाइदाहरु बिरामीको रोगको अवस्था, उचित प्रयोग र लामो समय प्रयोग गरेपछि मात्रै देखिने हुन्छन् । औषधिका फरक फरक काम र गुण हुने भएकाले बिरामीको अवस्था हेरेर डाक्टरको सही परामर्शमा मात्र लिँदा फाइदा हुन्छ ।
नेपालीको औसत आयु बढ्दै जाँदा घुँडा खिईने मानिसको संख्या पनि आगामी दिनमा बढ्दै जाने देखिन्छ । त्यसैले प्रत्येक घुँडाको समस्या भएका बिरामीले घुँडा खिईएको हो वा होईन र आफ्नो घुँडा कुन अवस्थामा खिईएको छ भनेर जान्नु आवश्यक हुन्छ ।
झट्ट सुन्दा एकै जस्तो सुने पनि घुँडा खिईने ३ वटा अवस्थाका कारण लक्षण र उपचार फरक फरक हुने भएकाले आफ्नो जोर्नी खिईएको अवस्था पत्ता लगाई उपयुक्त उपचार पद्दति अबलम्वन गर्न समयमै जोर्नी विशेषज्ञको सल्लाह लिनु उचित हुन्छ ।
प्रतिक्रिया दिनुहोस्