२ साउन, काठमाडौं । ललिता निवास प्रकरणको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज पनि सुनुवाइ जारी रहने छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा सोमवार बहस हुँदाहुँदै समय सकिएपछि आज पनि सुनुवाइ हुने भएको हो ।
उक्त प्रकरणमा कीर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतम प्रहरी हिरासतमा छन्।
विना कारण थुनेको भन्दै पक्राउ परेकाहरूले असार १३ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए। सर्वोच्चले सो विवादसम्बन्धी छ थान रिट निवेदन एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको छ ।
सोही प्रकरणमा मुछिएका तर सर्वोच्चबाट स्टेअडर ल्याएका कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीलाई कागज गरेर छाडिएको थियो। विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो। सोही प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्