Ad imageAd image

चन्द्रागिरीको मच्छेगाउँको मत्स्यनारायण मन्दिरमा ‘पुरुषोत्तम मेला’ सुरु

खबर खुराक
खबर खुराक ३ श्रावण २०८०, बुधबार
2 Min Read
Aa

३ साउन, काठमाडौं । अतिरिक्त महिना मलमास आज (मङ्गलबार)बाट सुरु भई साउन ३१ मा समापन हुँदैछ । हरेक मलमासमा जस्तै चन्द्रागिरीको मच्छेगाउँको मत्स्यनारायण मन्दिरमा ‘पुरुषोत्तम मेला’ यस पटक पनि आज (मङ्गलबार) बाट सुरु भएको छ ।

राजधानी काठमाडौँबाट आठ किलोमिटर दक्षिण पश्चिममा रहेको चन्द्रागिरि नगरपालिका–९ स्थित मत्स्यनारायण मन्दिरमा मलमासको समयमा भगवान् विष्णुको पूजा–आराधना गर्न नेपाल तथा भारतबाट लाखौँ भक्तजन  आउने गर्दछन् ।

पोखरीले घेरिएको उक्त मन्दिरमा प्रत्येक तीन वर्षमा वा अतिरिक्त महिनामा विशेष मत्स्यनारायण मेला पनि लाग्ने गरेको छ । कीर्तिपुर, कलङ्कीको तीनथाना र थानकोटलगायतका नाका करिब ३, ४ किलोमिटर दूरीमा रहेको मन्दिर १७ सय वर्षअघि निर्माण भएको र ४ हजार वर्षअघि पोखरी स्थापना भएको रेकर्ड रहेको मन्दिर मेला व्यवस्थापन समितिले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्दिरका पुजारी शैलेश आचार्यले जानकारी दिनुभयो ।

सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार भएको मन्दिरमा माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शङ्ख, चक्र, गदा र पद्म लिएको मूर्ति छ ।

- Advertisement -
Ad image

विष्णुले दस अवतार लिँदा सबभन्दा पहिले मत्स्य शरीर धारण गरी प्रलय कालमा समुन्द्रमा डुङ्गाको काम गरी वेदलाई सुरक्षा गरेको पुराणमा उल्लेख छ । चार नारायणको दर्शन गर्ने उद्देश्य बोकेका भक्तजनले मत्स्यनारायण मन्दिरको दर्शन गर्न छुटाउँदैनन् ।

मन्दिर घण्टा आकारको पौराणिक तथा कलात्मक शिखर शैलीमा बनेको छ । मन्दिर वरिपरि १४ वटा कलात्मक धारा छन् । धाराको पछाडिपट्टि पर्खालमा प्रत्येकमा विष्णुको रूपका मूर्ति छन् । मन्दिर अगाडि शिलामा स्तुतिसहित गरुड हनुमान र दुवै छेउमा शिवको लिङ्ग छ ।

पोखरी अगाडि जलाशयमा मत्स्यकुण्ड अवस्थित शिवलिङ्ग छ । मन्दिरभित्र पाञ्चायन देवता र अन्य विष्णुका रूपहरू छन् । पौराणिक शङ्ख घण्टा छन् । दायाँ र बायाँ लक्ष्मी, सरस्वती, गणेश, राधा, कृष्ण, शिव, पार्वती, गरुड, हनुमान, सूर्य र प्रत्यक्ष शिलामा मत्स्यनारायणको ढुङ्गाको मूर्ति छन् ।

मेला व्यवस्थापन समितिका संयोजक एवम् चन्द्रागिरि नगरपालिका–९ का वडाध्यक्ष अच्युत अधिकारीले मेला अवधिभर भगवानको पूजा–आराधना गर्न र चन्द्रागिरि वन नजिकै विकास भएको पदमार्गको लाभ लिन सबै भक्तजनलाई अपिल गर्नुभयो ।

अधिकारीले मेला शान्तिपूर्ण रूपमा सञ्चालन गर्न सबै तयारी पूरा गरेको र एक महिनामा करिब २० लाख भक्तजनले मन्दिरमा दर्शन गर्ने अपेक्षा गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्