४ साउन, काठमाडौं । आधुनिक विज्ञानले जसरी फड्को मार्दैछ, उसैगरी हाम्रासामु उपचार नै असम्भव वा जटिल हुनेखालका रोग/बिमारहरू पैदा भइरहेका छन् । क्यान्सर यस्तै रोग हो, जसको उपचार असम्भव नै त छैन तर यसले बढीभन्दा बढी बिरामीकाे जिन्दगी समाप्त पार्ने गरेको छ ।
हाम्रो शरीरमा कोषिकाहरू असामान्य तरिकाले बढ्नु नै क्यान्सर रोग हो । आमरूपमा हाम्रो शरीरका कोषिकाहरू नियन्त्रित तरिकाले बढ्छन् र विभाजित हुन्छन् । सामान्य कोषिकाहरूमा नोक्सान पुग्दा वा यस्ता कोषिका पुरानो हुँदा त्यसको ठाउँ स्वस्थ कोषिकाहरूले लिन्छन् । क्यान्सरमा कोषिकाको विकासलाई नियन्त्रित गर्ने संकेतले ठीकसँग काम गर्दैन । क्यान्सरका कोषिकाहरू बढिरहन्छन् । क्यान्सरका कोषिकाले स्वस्थ कोषिकाका सबै नियमहरू उल्लंघन गर्छन् । अर्काे शब्दमा, क्यान्सर रोग शरीरको कोष या कोषिकाहरूको समूहमा देखिने अस्वाभाविक वृद्धि हो । यसको उपचार बेलैमा गरिएन भने यो शरीरमा फैलिन्छ, जसले ज्यानै लिन सक्छ ।
पाठेघर र यससम्बन्धी क्यान्सर
पाठेघर महिलाहरूकाे एक प्रमुख प्रजनन अंग हाे, जुन पेटकाे तल्लाे भागमा हुन्छ । पिसाब थैली यसकाे ठीक अगाडि र मलद्वार पछाडि हुन्छ । याे नासपाती आकारकाे हुन्छ । डिम्बाबाहिनी नली तथा मांशपेसी तत्वहरूले दुवैतिरबाट अड्याइ राख्न मद्दत पुर्याएकाे हुन्छ ।
पाठेघरलाई तीन भागमा बाँड्न सकिन्छ- Fundus सबैभन्दा माथिकाे फराकिलाे भाग । Isthmus बीचकाे साँघुराे घाँटीजस्ताे भाग र Cervix पाठेघरकाे मुख, जुन तल याेनीद्वारमा खुल्छ ।
किन हुन्छ पाठेघरमा क्यान्सर ?
नेपालमा महिलाहरूमा पाठेघरकाे मुखकाे क्यान्सर सबैभन्दा बढी हुने गरेकाे पाइन्छ । खासगरी सानाे उमेरमा याैन सम्पर्क तथा भाइरसकाे संक्रमण यसकाे प्रमुख कारण मानिएकाे छ । तर कारण यति मात्र हाेइन, अरू पनि हुन्छन् ।
- कलिलै उमेरमा विवाह भएका महिलाहरूमा
- कलिलै उमेरमा याैन सम्पर्क राख्ने महिलाहरूमा
- बढी पुरूषसँग याैन सम्पर्क भएका महिलाहरूमा
- बढी सन्तान जन्माएका महिलाहरूमा
- खानपिनमा ध्यान नदिने तथा कुपाेषण भएका महिलाहरूमा
- HIV भाइरसकाे संक्रमण भएका महिलाहरूमा
- पाठेघर वा याैनसम्बन्धी बराबर संक्रमण भएका महिलाहरूमा
- Hormone तथा Pills बढी लिने महिलाहरूमा
यस्ता हुन्छन् लक्षणः
- फाेहर पानी देखिनु
- याैनसम्पर्कपछि रगत देखिनु
- महिनावारीकाे बीचबीचमा रगत देखिनु
- महिनावारी सुकिसकेका महिलाहरूमा रगत देखिनु
- तल्लाे पेट दुख्नु
- क्यान्सर फैलिएकाे अवस्थामा दिसाबपिसाब गर्दा अप्ठेराे हुनु ।कसरी थाहा पाउने ?
पाठेघरकाे मुखकाे क्यान्सर नियमित जाँचबाट पत्ता लगाउन सकिन्छ । Pap-Smear पाठेघरकाे पानी जाँच गरेर क्यान्सर भएकाे छ वा छैन र क्यान्सर हुने सम्भावना छ, छैन भनी पत्ता लगाउन सकिने विशेष तथा सजिलाे किसिमकाे जाँच हाे । हरेक विवाहिताले वर्षकाे एक पटक नियमित Pap Smear गराउँदा उत्तम हुन्छ । याे तरिकाबाट छिटाे क्यान्सर पत्ता लगाउन र निदान गर्न सजिलाे हुन सक्छ ।
- Pap Smear धेरै सजिलाे र छरिताे जाँच हाे ।
- याे नजिककाे स्वास्थ्य केन्द्र अस्पतालहरूमा अथवा स्त्री राेग विशेषज्ञद्वारा गर्न सकिन्छ ।
- याे जाँच गर्दा दुख्दैन ।
- महिलाहरूलाई बेहाेस गर्नुपर्दैन ।
- ५-१५ मिनटमै गर्न सकिन्छ ।
- धेरै महँगाे छैन ।
तर Pap-Smear गर्नुअघि केही कुरामा ध्यान दिनुपर्छः
- दुई दिनअगाडिदेखि याैन सम्पर्क गरेकाे हुनुहुँदैन ।
- मलम अथवा Douche (डुस) प्रयाेग गर्नुहुँदैन ।
- याे महिनावारी भएकाे बेला गर्न मिल्दैन ।
- सकेसम्म एक हप्तादेखि Antibiotic खाएकाे हुनुहुँदैन ।
यसका उपचार विधि निम्न प्रकारका छन् ः
Pap-Smear तथा अन्य जाँचहरूद्वारा क्यान्सर भएकाे पत्ता लागेमा तुरून्तै उपचार गराउनुपर्छ । क्यान्सर विशेषज्ञ चिकित्सकहरूसँग कसरी उपचार गर्ने भन्नेबारे सल्लाह गर्नुपर्छ । राम्राे उपचार पाएमा निकाे हुने क्यान्सरमध्ये पाठेघरकाे मुखकाे क्यान्सर एक हाे ।
शल्यक्रिया
सुरुकाे अवस्थामा पाठेघर निकालेर फालेमा याे राेग निकाे हुन सक्छ ।
प्रतिक्रिया दिनुहोस्